१७ बैशाख २०८१, सोमबार

उन्मुक्तीका दुई जनाको मुख्यमन्त्रीमा दावेदारी : कैलाश बन्लान कि लक्ष्मणकिशोर



धनगढी/ सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीका लागि नागरिक उन्मुक्ती पार्टीका दुई जनाद्धारा आइतबार मुख्यमन्त्री पदमा दावेदारी प्रस्तुत गरेपछि मुख्यमन्त्री को बन्लान भन्ने चाँसो बढेको छ ।

सो पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठ पक्षबाट प्रदेश सभा सदस्य कैलाश चौधरी र उन्मुक्तीका संरक्षक रेशमलाल चौधरीबाट लक्ष्मण किशोर चौधरीले मुख्यमन्त्री पदमा दावेदारी प्रस्तुत गरेका छन् । अब प्रदेश प्रमुख नाजिर मियाले कसलाई मुख्यमन्त्री बनाउलान भन्ने चर्चा हुन थालेको छ ।

उन्मुक्तीको विवादले सो पार्टीका प्रदेश सभा सदस्यहरु दुईतिर विभाजित भएपछि प्रदेश प्रमुखले प्रदेश सभा सदस्यहरुलाई बोलाएर सनाखत गराएर मुख्यमन्त्री नियुक्त गर्ने सम्भावना छ । प्रदेश प्रमुखले दावेदारहरुसंग बढीमा तीन दिनभित्र मुख्यमन्त्री नियुक्त गर्ने बताएका छन् ।

प्रदेश प्रमुखको कार्यालयका निमित्त प्रमुख शैलेश ढुङ्गानाले मुख्यमन्त्री नियुक्तीको विषयमा प्रदेश प्रमुखले विभिन्न पक्षसंग राय सल्लाह लिइरहेको बताए ।

नेपाली कांग्रेस, नेकपा (एकीकृत समाजवादी) को समर्थनमा लक्ष्मणकिशोर चौधरीले मुख्यमन्त्रीमा दावी गरेका हुन । उनले आफ्नो पक्षमा कांग्रेसका १८, उन्मुक्तीका सात, समाजवादीका चार र राप्रपाका एक गरेर ३० जना रहेको दावी गरे । यद्यपी दावेदारी प्रस्तुत गर्दा एकीकृत समाजवादीका प्रदेश सभा सदस्य भने अनुपस्थित थिए ।

कैलाशले पनि नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र ), नागरिक उन्मुक्ती र स्वतन्त्र प्रदेश सभा सदस्य डा. ताराप्रसाद जोशीको समर्थनमा मुख्यमन्त्रीको दावेदारी गरेका छन् ।

एमालेका प्रदेश सभा सदस्य धर्मराज पाठकले एमाले, माओवादीका १०/१०, उन्मुक्तीका छ र स्वतन्त्र एक गरेर २७ जनाले कैलाशको पक्षमा रहेको बताए । यद्यपी उन्मुक्तीको आन्तरिक विवादले कैलाशको पक्षमा दुई जना मात्र छन् ।

प्रदेश सरकार गठनका लागि २७ जना प्रदेश सभा सदस्यको समर्थन आवश्यक हुन्छ । हाल ५३ सदस्यीय प्रदेश सभामा ५२ जना रहेका छन् ।

लक्ष्मणकिशोरको पक्षमा उभिएका दलले आफूहरुसित बहुमत सदस्यको समर्थन रहेकोले आजै मुख्यमन्त्री नियुक्त गर्न प्रदेश प्रमुख मियालाई आग्रह गरेको नेपाली कांग्रेसका प्रमुख सचेतक विक्रम धामीले बताए ।

नेपाली कांग्रेसका संसदीय दलका नेता कमलबहादुर शाहले विश्वासको मत पाउन नसक्ने अवस्था बनेपछि चैत २२ गते पदबाट राजीनामा गरेका थिए । ।

त्यसपछि प्रदेश प्रमुख मियाले नेपालको संविधानको धारा १६८ को उपधार २ बमोजिम १० दिनको समयसीमा राखेर दुई वा दुई भन्दा बढी दल मिलेर सरकार गठन गर्नका लागि आव्हान गरेका थिए । सो समयसीमा आजै सकिएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार