१७ बैशाख २०८१, सोमबार

सुदूरपश्चिममा सरकार गठनको अन्तिम दिन, मुख्यमन्त्री रञ्जिताको कि रेशमको



धनगढी/ सुदूरपश्चिम प्रदेशमा सरकार आज नयाँ सरकार गठन हुने सम्भावना बढेको छ । प्रदेश प्रमुख नाजिर मियाले नयाँ सरकार गठनका लागि दिइएको १० दिने समय सीमा आज साँझ ५ बजे सकिने भएकोले दिउँसोसम्म नयाँ सरकार गठन हुने अपेक्षा गरिएको छ ।

नेपाली कांग्रेस संसदीय दलका नेता कमलबहादुर शाहले चैत २२ गते मुख्यमन्त्री पदबाट राजीनामा दिएपछि दिएपछि प्रदेश प्रमुख मियाँले संविधानको धारा १६८ को उपधारा २ बमोजिम नयाँ सरकार गठनका लागि आह्वान गरेका थिए ।

नागरिक उन्मुक्ती पार्टीको आन्तरिक विवादले गर्दा १० दिनसम्म पनि सरकार गठन हुन नसकेको हो । सरकार बनाउनका लागि अहिले कायम रहेको ५१ सदस्यीय प्रदेश सभामा २६ जना प्रदेश सभा सदस्य आवश्यक पर्छ ।

सङ्घीय सरकारको समिकरण अनुसारका दल नेकपा (एमाले) १०, नेकपा (माओवादी केन्द्र ) १० र नेकपा ( एकीकृत समाजवादी) चार प्रदेश सभा सदस्य गरेर २४ जना मात्र रहेका छन् ।

सात जना प्रदेश सभा सदस्य रहेको नागरिक उन्मुक्तीका एक जनाको पद खारेजी भएकाले अब छ जना मात्र रहेका छन् । छ जनामध्ये पनि उन्मुक्तीका अध्यक्ष रञ्जिता श्रेष्ठले घनश्याम चौधरीलाई तीन महिनाका लागि निलम्बन गर्नु भएको छ तर सो निलम्बन बारे प्रदेश सभाले कुनै निर्णय दिएको छैन ।

माओवादीका उपनेता अक्कलबहादुर रावल आज दिउँसोसम्मका नयाँ सरकार गठनका लागि दावेदारी प्रस्तुत हुने बताए ।
उन्मुक्तीका संस्थापक केन्द्रीय सदस्य रमेश विकले भने आज आफ्नो दलका कैलाश चौधरी एमाले, माओवादी र नेकपा (एकीकृत समाजवादी) को समर्थनमा मुख्यमन्त्रीमा नियुक्त हुने बताए ।

उन्मुक्तीका अध्यक्ष रञ्जिता श्रेष्ठ आजै धनगढी पुग्ने र त्यसपछि सरकार बनाउन दावी पेश गरिने उनले बताए । अर्कोतिर रेशम पक्षले लक्ष्मणकिशोरलाई मुख्यमन्त्री बनाउनका लागि प्रदेश सभाका सबै दलको समर्थन लिन खोजिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार