१८ बैशाख २०८१, मंगलवार

अध्यक्ष रञ्जिताको मानसिक अवस्था चेक गर्नुपर्ने हो : सामाजिकमन्त्री चौधरी




धनगढी/ नागरिक नागरिक उन्मुक्ति पार्टी (नाउपा) अध्यक्षले संसदीय दलका नेता घनश्याम चौधरीलाई निलम्बन गरेपछि सोही दलका प्रदेश सभा सदस्य आक्रोसित भएका छन् । यसक्रममा सामाजिक विकासमन्त्री लक्ष्मणकिशोर चौधरीले केन्द्रीय अध्यक्ष रञ्जिता चौधरीको मानसिक अवस्था ठिक छैन कि, चेक गर्नु पर्ने हो कि भन्ने प्रश्न उठाएका छन् ।

अध्यक्ष श्रेष्ठले शुक्रबार पार्टी केन्द्रीय समितिको निर्णय भन्दै सुदूरपश्चिम प्रदेश सभा सचिवालयलाई पत्र पठाएको विषयमा प्रतिक्रिया दिदै मन्त्री चौधरीले सो प्रतिक्रिया दिएका हुन ।

अध्यक्ष श्रेष्ठले केही दिनअघि नागरिक उन्मुक्ति पार्टीका सुदूरपश्चिम प्रदेश सभा सदस्य इन्दिरा गिरीलाई पदमुक्त गरेकी थिइन । त्यस्तै, संसदीय दलको नेताबाट घनश्याम चौधरीलाई हटाएर कैलाश चौधरीलाई चयन गरेकी थिइन । तर, प्रदेश सभामुख भीमबहादुर भण्डारीले प्रदेश सभा सचिवालयले संसदीय दललाई मात्र चिन्ने भन्दै अध्यक्ष रञ्जिताको निर्णय कार्यान्वयन गरेका छैनन् ।

उन्मुक्तीका संस्थापक उपाध्यक्ष तथा संगठन विभाग प्रमुख लक्ष्मणकिशोर चौधरीले निर्वाचन आयोगले पार्टी चलाउन वा सांसदहरूलाई कारबाही गर्न अध्यक्ष बनाएको हो ? भन्ने प्रश्न समेत गरेका छन् ।

अब त हामीलाई निर्वाचन आयोगले उहाँ रञ्जितालाई पार्टी चलाउन अध्यक्ष बनाएको हो वा बिगार्न भन्ने पनि शंका लागेको छ उनले भने ।

उनले पार्टीको विधान, संसदीय दल र विधान, संसदीय परिपाटी, अनुशासन समिति, पार्टीका लाखौ कार्यकर्ता र शुभचिन्तक तथा मतदाताको भावनालाई लत्याएर अध्यक्षले मनपरी गरिरहेको आरोप लगाए ।

हामी लोकतान्त्रिक परिपाटीमा छौ, यो राणाकाल होइन । हामीलाई जनताले अनुमोदन गरेर संसदमा पठाएका हुन् । हामीले यदि जनताको अपेक्षा अनुरुप काम गर्न सकेनौ भने २०८४ सालमा जनताले नै कारबाही गर्ने हो । उनले अध्यक्ष रञ्जिताले गरेको घनश्यामको निलम्वन कारबाही जनमतको घोर अपमान भएको बताए ।

नागरिक उन्मुक्ति पार्टीले सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व पाउने सम्भावना बढेपछि प्रदेश सभा सदस्य लक्ष्मण किशोरलाई मुख्यमन्त्रीका रुपमा अघि सार्न चार जना प्रदेश सभा सदस्यले सहमति गरेको बताइन्छ । इन्दिरा गिरी पदमुक्त भएपछि अब प्रदेश सभामा उन्मुक्तीका छ जना रहेका छन् । लक्ष्मण किशोरलाई मुख्यमन्त्री बनाउन बहुमतले सहमति गरेपछि अध्यक्ष रञ्जिताले संसदीय दलका नेता घनश्यामलाई तीन महिनाका लागि निलम्वन गरेको चर्चा चलेको छ ।

मुख्यमन्त्रीमा तपाईंको पनि दावी हो ? भन्ने प्रश्नमा मन्त्री चौधरीले भने– स्वाभाविक रुपमा हो । म पार्टीको संस्थापक उपाध्यक्ष र संगठन विभाग प्रमुख हुँ । अरुभन्दा सिनियर पनि हुँ । र, मेरो पक्षमा बहुमत सांसदहरू हुनुहुन्छ ।

पार्टीको विधान, संसदीय परम्परा र मूल्यमान्यता, लाखौ जनताको अपेक्षा र समर्थन मिचेर अध्यक्षले मनपरी गरिरहँदा पार्टी बलियो नहुने बताउदै उनले भने यस्तै हो भने एक ठाउँमा बस्न सकिँदैन ।

उन्मुक्तीका प्रवक्ता दामोदर पण्डितले भने प्रदेश सभा सदस्य (अध्यक्षद्वारा संसदीय दलको नेता चयन गरिएका) कैलाश चौधरीको नै नेतृत्वमा प्रदेश सरकार बन्ने दाबी गरे । प्रवक्ता पण्डितले भने– हाम्रो निर्णय भइसकेको छ ।

उनले संसदीय दलका नेता घनश्यामले पार्टी विधान विपरित काम गरेकोले कारबाही गरिएको दाबी गरे । भने– उहाँ पार्टीको सम्पर्क मै आउनुहुन्न । हाम्रो नेतृत्वमा सरकार बनाउने अवसर आएको वेला उहाँहरू अरु नै पार्टीको सरकार बनाउन लाग्नु भएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार