२० बैशाख २०८१, बिहीबार

सुदूरपश्चिममा सरकार गठनका लागि आजै आब्हान हुने



धनगढी / सुदूरपश्चिम प्रदेशमा नयाँ सरकार गठनका लागि आजै आव्हान हुने भएको छ ।

प्रदेश प्रमुखको कार्यालयका निमित्त सचिव शैलेश ढुङानाका अनुसार नयाँ सरकार गठन गर्नका लागि आव्हान गर्ने तयारी अन्तिम चरणमा छ ।

प्रदेश प्रमुख मियाले हिजोदेखि नै राजनीतिक दल, कानुनका विज्ञहरुसंग नयाँ सरकार गठनका लागि आव्हान गर्नका लागि परामर्श लिइरहेका छन् ।

मुख्यमन्त्री कमलबहादुर शाहले बिहीबार साँझ राजीनामा दिएपछि प्रदेश प्रमुख नाजिर मियाले आजै नयाँ सरकार गठनका लागि आव्हान गर्ने तयारी भएको हो । शाहको सरकारलाई बिहीबार नै अर्को सरकार गठन नभएसम्मका लागि कामकाज गर्न जिम्मेवारी तोकिएको छ ।

५३ सदस्यीय सुदूरपश्चिम प्रदेश सभामा हाल ५२ जना सदस्य रहेका छन् । नयाँ सरकार बनाउन २७ जनाको समर्थन आवश्यकपर्छ । सङ्घीय सरकार अनुसार गठवन्धन बनाउन आवश्यक संख्या भन्दा बढी ३१ जना प्रदेश सभा सदस्य छन् । तर सात सदस्य रहेको नागरिक उन्मुक्ती पार्टी आन्तरिक विवाद भइरहेकोले नयाँ सरकार बनाउन समेत चुनौतिपूर्ण छ ।

सङ्घीय सरकारमा रहेका नेकपा (एमाले) का १०, नेकपा ( माओवादी) का १० र नेकपा (एकीकृत समाजवादीसंग चार जना प्रदेश सभा सदस्य गरेर २४ जना मात्र रहेका छन् ।

प्रदेश सभामा नेपाली कांग्रेसका १८, राप्रपा र स्वतन्त्रका १/१ जना प्रदेश सभा सदस्य छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार