२२ बैशाख २०८१, शनिबार

तनहुँका प्रकाश पन्त सम्पर्कबिहिन खोजिदिन परिवारको आग्रह




युरोप/ नेपालको तनहुँ जिल्ला ब्यास नगरपालिका दमौली घर भएका प्रकाश पन्त माल्टामा एक सातादेखि सम्पर्कबिहिन भएका छन् । मार्च २५ तारीख राती बुजिब्बा भाइको कोठाबाट खाना खाएर फर्केका पन्त आफ्नो कोठामा नआई उतैबाट सम्पर्क बिहिन भएका हुन् ।

सम्पर्कबिहिन भएका श्रीमान खोजी गरिदिन अनुरोध गर्दै मार्च ३१ तारीखका दिन गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् माल्टामा पन्तकी श्रीमती रविना पन्तले लिखित निवेदन दिएकी छन् ।

उनले निवेदनमा लेखेकी छन्, विगत १ वर्षदेखि रोजगारीको सिलसिलामा माल्टामा ड्रिम लोनिक कम्पनीमा फुड डेलीभरीको काममा कार्यरत मेरो श्रीमान प्रकाश पन्त मेरो देवर रोशन पन्तको कोठाबाट खाना खाएर करिब राती १ बजे आफ्नो रुममा जान्छु भनेर गएको सुन्नमा आएको छ ।

सोही रातीदेखि आजको मितिसम्म आफ्नो घरपरिवार र मसंग मेरो श्रीमान् सम्पर्कमा नआएको र म लगायत हाम्रो परिवार पूर्णरुपमा चिन्तित भएको हुँदा मेरो श्रीमानलाई खोजतलासको लागि माल्टाको कानुन अनुसार सहयोग गरिदिन उनले अनुरोध गरेकी छन् । सम्पर्कबिहिन भएका पन्त फेला परेमा ३५६७७३००९९७ फोन नम्बरमा सम्पर्क गरेर परिवारलाई जानकारी दिन पन्तको परिवारले आग्रह गरेको छ ।

२५ तारिखदेखि सम्पर्कबिहिन भएका पन्तको बारेमा आधिकारिकरुपमा पन्त सम्पर्कबिहिन भएको उनकी श्रीमती र भाईहरु आएर मार्च ३१ तारिखका दिन लिखित निवेदन एनआरएनए माल्टामा दिएको गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् माल्टाका अध्यक्ष रेमलाल खनालले बताएका छन् । उनले भने, “सम्पर्कबिहिन भएको निवेदन आएपछि माल्टाको इमिग्रेसन प्रहरी प्रशासन र डिटेन्सन सेन्टर सबैमा बुझेका थियौ तर पन्त कतै पनि नभएको जानकारी हामीलाई प्राप्त भएको छ ।”

पन्तको खोजीकार्यका लागि माल्टामा रहेका विभिन्न संघसंस्था र सम्पूर्ण नेपालीलाई अध्यक्ष खनालले आग्रह गरेका छन् । माल्टाको बुजिब्बामा बस्दै आएका पन्त सम्पर्कबिहिन भएको खबरले अहिले परिवार धेरै तनावमा रहेकोले खोजीकार्यमा सबै नेपालीलाई सहयोग गरिदिन पत्रकार प्रकाश बगालेले अनुरोध गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार