१७ बैशाख २०८१, सोमबार

एकीकृत समाजवादीका सोडारी सुदूरपश्चिमको चौथो मुख्यमन्त्री बन्ने सम्भावना



धनगढी/ नेकपा (एकीकृत समाजबादी) का सुदूरपश्चिम प्रदेशका संसदीय दलका नेता दीर्घबहादुर सोडारी सुदूरपश्चिमको चौथो मुख्यमन्त्री बन्ने सम्भावना बढेको छ ।

सत्ता साझेदार मुख्य दल एमाले, माओवादी र समाजवादीका शिर्ष नेताहरुबीच सुदूरपश्चिममा समाजवादीलाई मुख्यमन्त्री दिने सहमति भएको हो ।

नयाँ सहमति अनुसार बागमतीमा समाजवादीले माओवादी मुख्यमन्त्रीलाई विश्वासको मत दिने र सुदूरपश्चिममा अब बन्ने सरकारको नेतृत्व एकीकृत समाजवादीलाई दिने सहमति भएको हो ।

बैठकमा एमाले अध्यक्ष केपीशर्मा ओली, माओवादी अध्यक्ष पुष्पकमल दाहाल र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच सो सहमति भएको हो ।

कैलाली क्षेत्र नम्बर ४ को (क) प्रदेशबाट निर्वाचित सोडारी ०७४ को प्रदेश सभामा पनि विजयी भएका थिए । उनी अघिल्लो कार्यकालमा समेत मुख्यमन्त्रीका दावेदार थिए ।

सुदूरपश्चिममा सरकार बन्न २७ प्रदेश सभा सदस्यको समर्थन आवश्यक पर्छ अहिले एमाले, माओवादी र समाजवादीसंग २४ मत रहेको छ ।

एमाले, माओवादी र समाजवादीको सरकार बनाउन नागरिक उन्मुक्ती पार्टीको सहयोग आवश्यक पर्छ । उन्मुक्तीमा कांग्रेसकै सरकारलाई समर्थन गर्ने कि एमाले, माओवादी र समाजवादीको पक्षमा लाग्ने भन्नेमा विवाद छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार