१७ बैशाख २०८१, सोमबार

बझाङमा प्रदेश सचिव बुढा माओवादी उम्मेदवार बन्ने



धनगढी/ नेकपा (माओवादी केन्द्र) ले बझाङको प्रदेश सभा क्षेत्र १ मा हुन लागेको उपनिर्वाचनका लागि पार्टीका सुदूरपश्चिम प्रदेश कमिटी सचिव जनक बुढालाई उम्मेदवार बनाउने घोषणा गरेको छ ।

आइतबार धनगढीमा आयोजित पत्रकार सम्मेलनमा माओवादीका उपमहासचिव एवं सुदूरपश्चिम इन्चार्ज गिरिराजमणि पोखरेलले बुढालाई उम्मेदवार बनाइने बताए । उनका अनुसार माओवादीको प्रदेश सचिवालय बैठकले उम्मेदवारका लागि बुढाको एकल नाम सर्वसम्मतरुपमा पार्टी केन्द्रमा सिफारिस गर्ने निर्णय गरेको छ ।

इन्चार्ज पोखरेलले एमालेले पहिले उम्मेदवार घोषणा गरेका कारण सत्ता गठवन्धनको साझा उम्मेदवार वन्ने सम्भावना कम रहेको बताए । उनले भने साझा उम्मेदवार बनाउने प्रयास जारी छ तर केही गरेर साझा उम्मेदवार बनाउन नसके मित्रवत प्रतिस्पर्धा गरिने छ ।

बझाङ क्षेत्र नम्बर १ बाट निर्वाचित नेपाली कांग्रेसका नेता तथा प्रदेश सरकारका तत्कालीन आन्तरिक मामिला तथा कानुनमन्त्री पृथ्वीबहादुर सिंहको दुर्घटनामा परेर निधन भएपछि उपनिर्वाचन हुन लागेको हो ।

प्रदेश सचिव बुढा २०७० को संविधानसभा सदस्य हुन । २०५६ सालमा महेन्द्रनगरको सिद्धनाथ बहुमुखी क्याम्पसमा माओवादीनिकट अखिल क्रान्तिकारीमा आबद्ध भएका बुढा २०५८ देखि भूमिगत भएका हुन ।

उनले २०६२ सालमा माओवादीको बाजुरा जिल्ला सचिव र २०६४ मा बैतडी जिल्ला सचिव भएर काम गरेका छन् । २०६४ देखि २०७० सालसम्म बुढा बझाङ जिल्ला अध्यक्ष तथा इन्चार्जको जिम्मेवारीमा समेत थिए ।

२०५८ देखि २०६० सालसम्म अखिल क्रान्तिकारीको केन्द्रीय सदस्य भएका बुढाकी श्रीमती २०५८ सालमा तत्कालीन शाही नेपाली सेनाबाट मारिएकी थिइन भने घरमा आगजनी गरिएको थियो ।

माओवादीको बैठकले सङ्घीय गठवन्धन अनुसार प्रदेशमा समेत सरकार बनाउन पहल गर्ने निर्णय गरेको इन्चार्ज पोखरेलले बताए । यस्तैगरेर माओवादी प्रदेश सचिवालय बैठकले सुदूरपश्चिममा पार्टीको संगठन सुदृढीकरण तथा जनसम्बन्ध विस्तार अभियान सञ्चालन गर्ने निर्णय पनि गरेको छ ।

उपनिर्वाचनलाई लक्षित गरेर पहिलो चरणको अभियान वैशाखमा हुने प्रदेश इन्चार्ज पोखरेलले जानकारी दिए ।

बैठकले सुदूरपश्चिमको विकासका लागि सार्वजनिक महत्वका प्रस्ताव पनि पारित गरेको छ । जसअनुसार गेटा स्वास्थ्य विज्ञान विश्वविद्यालयमा ३०० शस्याको मेडिकल कलेज चलाउन पहल गर्ने, धनगढी विमानस्थललाई क्षेत्रीय विमानस्थल बनाउनु पर्ने लगायतका विषय समेटिएका छन् ।

पत्रकार सम्मेलनमा सहइन्चार्ज विना मगर, प्रदेश अध्यक्ष हरीराम चौधरी उत्सव लगायतको उपस्थिति रहेको थियो ।
पत्रकार सम्मेलनमा उपस्थित माओवादी नेताहरु ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार