१५ बैशाख २०८१, शनिबार

साथीहरुको लहलहैमा कर्णाली पुलबाट हाम फालेका शाही मृत भेटिए



चिसापानी/ साथीहरुको लहलहैमा लागेर मदिरा सेवन गरेर कैलालीको चिसापानीस्थित कर्णाली नदीमा हाम फालेर बेपत्ता भएका ३० वर्षीय युवक लोकेन्द्र शाहीको शव फेला परेको छ ।

कैलालीको लम्कीचुहा नगरपालिका वडानम्वर ३ चिसापानीका शाहीले रक्सी खाएर , होलीको दिनमा होली खेलेपछि साथीहरुको उक्साहटमा कर्णाली नदीमा हाम फालेर बेपत्ता भएका थिए ।

चार दिनदेखि बेपत्ता रहेका शाहीको शव बिहीवार टीकापुरको सन्कट्टी घाटमा फेला परेका इलाका प्रहरी कार्यालय चिसापानीका प्रमुख प्रहरी निरीक्षक हरीराम डाँगीले बताए । उनको शव स्थानीयबासी र सुरक्षाकर्मी लगायतको टोलीले खोजतलासका क्रममा टीकापुरस्थित सन्कट्टीघाटमा फेला परेको हो ।

शाही सहित १७ जनाले होलीका दिन कर्णाली पुलबाट हाम फालेका थिए । १६ जना पौडिन सफल भए भने शाही डुबेर बेपत्ता भएका थिए ।

उनी राम्रो पौडीबाज भएको तर रक्सी सेवनले गर्दा सन्तुलन कायम गर्न नसक्दा डुबेर मृत्यु भएको अनुमान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार