१५ बैशाख २०८१, शनिबार

कर्णाली पुलबाट हाम फाल्ने शाही अझै भेटिएनन



कर्णाली पुलबाट हामफाल्दा बेपत्ता भएका लोकेन्द्र शाहीको खोजीकार्यमा खटिएको सुरक्षाकर्मी तथा स्थानीयको समुह । तस्बिर सौजन्य : नवराज खनाल


चिसापानी/ कैलालीको चिसापानीस्थित कर्णालीको पुलबाट सोमबार १६ जना साथीहरुसंगै हाम फालेर बेपत्ता भएका ३० वर्षीय लोकेन्द्र शाही अझै बेपत्ता रहेका छैन।

लम्कीचुहा नगरपालिका–३ का वडाअध्यक्ष लबबहादुर शाहीका अनुसार बेपत्ता शाहीको मङ्गलबार बिहानदेखि नै शसस्त्र प्रहरी, जनपदप्रहरी, स्थानीय युवाको समुहले तीनवटा र्याफ्टिङ, डुंगा प्रयोग गरेर खोजी गरेको थियो ।

शाही चिसापानी बजारमा सपरिवार तरकारी पसल गरेर बसेका थिए । सोमबार साँझपख लोकेन्द्रसहित १७ जनाले पालैपालो हाम फाले पनि अरु १६ जना भने सकुसल पौडिएर निस्केका थिए ।

उनीहरुले माथिल्लो भागमा कपडा नलगाइ पाइन्ट र जुत्ता सहित नदीमा हाम फालेका थिए । उनीहरु सबैले होली खेलेर मदिरा सेवन गरेपछि नदीमा हाम फालेको बताइएको छ ।

ईलाका प्रहरी कार्यालय चिसापानीका प्रमुख प्रहरी निरीक्षक हरीराम डाँगीले पौडिएर निस्केका युवालाई खोजी सोधपुछ गर्ने कार्य भइरहेको बताए । हामफाल्ने युवा २० देखि ३० वर्षसम्मका रहेको र सबै कर्णाली नदीमा पौडिने गरेको जनाइएको छ ।

दुई वर्ष अगाडि समेत लम्कीका तीन जना १७/१८ वर्षका युवाले रमाइलोका गर्ने क्रममा पुलबाट हाम फाल्दा एक जनाको डुबेर मृत्यु भएको थियो भने दुई जनाको उद्धार गरिएको थियो ।

सोमबार कर्णाली पुलबाट हाम फाल्ने १७ जनामध्येका एक युवा

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार