१५ बैशाख २०८१, शनिबार

‘सबै लाग्यौं भने सुदूरपश्चिमलाई उचाईमा पुर्याउन सक्छौं’



धनगढी / सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले पर्यटकीय क्षेत्रलाई अगाडि बढाउने सन्दर्भमा प्रदेश सरकार प्रतिवद्ध रहेको बताउदै सबैले आ–आफ्नो कर्म गरेमा समृद्ध सुदूरपश्चिम बनाउन समय नलाग्ने उल्लेख गरेका छन् ।

क्याप्टेन वेद उप्रेतीद्वारा लिखित ‘भू–स्वर्ग परिकल्पना सुदूरपश्चिम नेपाल’ पुस्तक विमर्श समारोहमा उनले नागरिकसमेत सबै लागेमा यो प्रदेशलाई एउटा उचाईमा पुर्याउन सकिने दावी गरे ।

पर्यटकीय क्षेत्रलाई अगाडि बढाउने सन्दर्भमा प्रदेश सरकार प्रतिवद्ध रहेको भन्दै उनले सबैले आ–आफ्नो कर्म गरेमा समृद्ध सुदूरपश्चिम बनाउन समय नलाग्ने उल्लेख गरे ।

मुख्यमन्त्री शाहले भने प्रदेश सरकारले मानसखण्ड सम्मेलन, खप्तड अध्यात्मिक सम्मेलन आयोजना गर्नुको उद्देश्य पनि पर्यटन विकासकै लागि थियो, यसैवर्ष रामारोशनमा तीन हजार बढी पर्यटक आउँदा यसको प्रचारप्रसार विश्वमै भएको छ ।

भू–स्वर्ग सुदूरपश्चिमलाई अन्तर्राष्ट्रिय क्षेत्रमा पनि चिनाउन आवश्यक रहेको भन्दै मुख्यमन्त्रीले त्यसका लागि पुस्तक महत्वपूर्ण कडी सावित हुने बताए । उप्रेतीद्वारा लिखित पुस्तकले सुदूरपश्चिमलाई चिनाउने जमर्को गरेको उनको टिप्पणी थियो ।

प्रदेश सभा सदस्य डा. ताराप्रसाद जोशीले क्याप्टेन उप्रेतीले किताबमार्फत विकासका लागि दबाब सृजना गरेको उल्लेख गरे । धनगढी उपमहानगरपालिकाका प्रमुख गोपाल हमालले प्रदेशमा भारतीय पर्यटक भित्र्याउनका लागि नाका सहज बनाउन र पर्यटकका सुरक्षाको ग्यारेन्टी गर्न आवश्यक रहेको बताए ।

त्यस्तै, प्राध्यापक डा. हेमराज पन्तले पर्यटन विकासका लागि पूर्वाधारमा जोड दिन आवश्यक रहेको बताए । पुस्तकमाथि समीक्षा गर्दै प्राध्यापक सीताराम भट्टले क्याप्टेन उप्रेतीद्वारा लिखित पुस्तक सुदूरपश्चिमको विकासका लागि ‘रोड म्याप’ रहेको टिप्पणी गरे । पुस्तकले समृद्धि र विकासका लागि चिन्तन गरेको उनको भनाइ थियो ।

जमिनबाट सुदूरपश्चिम एउटा किसिमको देखिने गरे पनि आकाशबाट देखिएका दृश्यहरुलाई कैद गरेर पुस्तक तयार पारेको क्याप्टेन उप्रेतीले बताए । चराको आँखाबाट आफूले सुदूरपश्चिमलाई कैद गरेर सम्भाव्यताको मार्गदर्शनका लागि पुस्तक लेखेको उनले बताए । उप्रेतीले भने यो कफी टेबुल बुक हो , यसमा सम्भाव्यता देखाइएको छ । जुन सम्भाव्यतालाई २० प्रतिशतमात्रै पनि पछ्याउने हो भने यो प्रदेश समृद्ध बन्न सक्छ ।

पुस्तक बिक्रीबाट प्राप्त हुने रकम वेद उप्रेती ट्रष्टमार्फत सुदूरपश्चिम प्रदेशका क्यान्सर पीडित बिरामीलाई सहयोग गरिने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार