१५ बैशाख २०८१, शनिबार

वर्तमान सरकार नयाँ अभियान र नयाँ जागरणका साथ अघि बढ्छ : ओली



डडेल्धुरा/ नेकपा (एमाले) का अध्यक्ष केपी ओलीले सो पार्टीको डडेल्धुराको नवौ जिल्ला अधिवेशनको उद्घाटन गर्दे वर्तमान सरकार नयाँ अभियान र नयाँ जागरणका साथ अघि बढिरहेको बताएका छन् ।

उनले जालझेल, षडयन्त्र गरेर जनतालाई गुम्राहमा राख्ने प्रवृतिको अन्त्य हुने बताए । सोमबार जोगबुडास्थित परशुराम नगरपालिका १२ को परशुराम रंगशालामा आयोजित अधिवेशनको उद्घाटन समारोहमा बोल्दै उनले खुट्टा तान्ने प्रवृतिको अन्त्य गरेर समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय अभियानमा अघि बढ्ने बताए ।

उनले भने एमालेले समृद्ध नेपाल, सुखी नेपालीको नारा लिएको छ । यो त्यत्तिकै होइन । उनले भने, यस देशमा परिवर्तन ल्याउनका लागि यो उद्देश्य बनाएको हो । एमालेका साथीहरुले तदअनुसार लाग्नुपर्छ ।

आफू प्रधानमन्त्री हुँदा नेपालको उत्पादन बृद्धिदर सात प्रतिशत भन्दा बढी पुगेको उनले बताए । तर गत वर्ष उत्पादन बृद्धिदर दुई प्रतिशतमा झर्यो । मैले अघि सारेका योजना रोकिए । त्यस कारण उत्पादन बृद्धिदर घट्यो, देश विकासका साझा मुद्दामा, लोकतन्त्रको रक्षाका लागि एक ढिक्का भएर लाग्नु पर्दछ उनले भने ।

अब नेपाली जनता अल्मलिने दिन गएको उनले बताए । अलमलिने दिन सक्कियो । अध्यक्ष ओलीले भने, अब नयाँ अभियान र जागरणका साथ अघि बढ्नुपर्छ, यहाँका नागरिक पहिलेदेखि नै परिवर्तनको पक्षमा थिए र अहिले पनि छन ।

सहिद भीमदत्त पन्तले पहिले नै राणा शासनविरुद्ध बिद्रोह गरेको उल्लेख गर्दै उनले भने , उहाँको टाउको काटेर बाँसमा झुण्डाइयो । नेपाली सेनाले नसकेपछि भारतिय सेनाको सहयोगमा जनता तर्साउन, डर, त्रास फैलाउन तत्कालिन राज्य पक्षले त्यस्तो गरेको थियो । तर नेपाली जनता, यहाँका जनता डराएन्न । देशमा परिवर्तन भई छाड्यो । अब अल्मलिने दिन गए ।

म प्रधानमन्त्री हुँदा हुलाकी सडक, मध्यपहाडी लोकमार्ग बनेन कि, औद्योगिक क्षेत्रको विस्तार गरिएन कि, सुपरजोन, जोन, ब्लकहरु निर्माण गरिएनन् कि, के गरिएनन् । तर अहिले यी सबै योजना लथालिंग पारिएका छन । अबको सरकारले लथालिंग रहेका योजनाहरुलाई अघि बढाउदै देशमा समृद्धि ल्याउछ ।

हामी सबैले सरकारको मात्रै मुख ताक्नु हुदैन सबैले मेहनत गर्नुपर्छ, उनले भने, माटोले आफै दिदैन, हामीले माग्नु पर्छ । हामीले मेहनत गर्न पर्छ । १० घर मिलेर एकै खालको आधुनिक खेती गर्नुपर्छ ।

उनले जोड दिदै भने, ससाना उद्योगहरु स्थापना गर्नु पर्छ । नेता, कार्यकर्ता र स्थानीय तहका जनप्रतिनिधिहरु अग्रसर हुनुपर्छ । तपाईहरुले स्थानीयलाई सिकाउनुपर्छ । तरिका बदल्नुपर्छ । खेतीपातिका तरिका बदलेर काम गर्नुपर्छ । तरिका बदलिएन भने उद्योग स्थापना गर्न सकिदैन । अब हामी हरेकले नयाँ ढंगले सोच्नु जरुरी छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार