१६ बैशाख २०८१, आईतवार

एमाले नेता भट्टराईले प्रवासी नेपालीको कार्यक्रमलाई सम्वोधन गर्दे



युरोप / प्रवासी नेपाली मञ्च माल्टाको दोस्रो राष्ट्रिय अधिवेशन चैत ४ गते (मार्च १७ तारीख) मा माल्टामा हुने भएको छ । नेकपा (एमाले) का स्थायी कमिटी सदस्य एवम् प्रवास इन्चार्ज डाक्टर राजन भट्टराईको प्रमुख आतिथ्यतामा दिउँसो १ बजेबाट अधिवेशन हुन लागेको सचिब विरोजजंग पाण्डेले बताए ।

युरोपको माल्टामा नेकपा एमालेको भातृ संगठन प्रवासी नेपाली मञ्च सक्रिय रहँदै आएको छ । २०२१ मा स्थापना भएको संगठनले रोजगारीको सिलसिलामा विदेशमा रहेका नेपालीहरु सबै एकहुनु पर्नेमा आवाज उठाउँदै विदशबाटै पनि देश र जनताकाका पक्षमा काम गर्न सकिने संगठनले बताएको छ ।

नेपाली जनताको त्याग तपस्या र बलिदानबाट प्राप्त आएको शासन व्यवस्थालाई संस्थागत गर्न परिवर्तनकारी पक्ष मिलेर अगाडि बढ्नुपर्नेमा संगठनले जोड दिदै आएको छ । रेमिटेन्स अर्थात विप्रेषण मार्फत देश संचालनमा सहयोग पुगाउने आप्रवासी नेपालीको हकहितको लागि सरकार जिम्मेवार बन्नुपर्ने संगठनले आवाज उठाउँदै आएको छ ।

प्रवासी नेपाली मञ्च माल्टाका संरक्षक एवम् युवा नेता भुवन अर्यालले कुनैपनि राजनीतिक दलका भातृ संगठनले पार्टीका गलत काम र निर्णयका बिरुद्ध बोल्ने हिम्मत गर्नुपर्ने बताए । पार्टीको चाकरी गर्ने काम जसले गरे पनि गलत भएको बताउँदै प्रवासमा रहेका हामी विभिन्न राजनीतिक दलका भातृ संगठनले सही र गलत छुट्याउदै परिवर्तनका पक्षमा उभिनु पर्ने बताए । देशमा विभिन्न कारणले समस्यामा परेकाहरुलाई मानविय सहयोग संगठले गर्दै आएको र अझैपनि आवश्यक सहयोग गर्दै जाने उनले बताए ।

संगठनका संस्थापक सल्लाहकार संयोजक बाबु अर्यालले एमालेका स्थायी कमिटी सदस्य एवम् प्रवास इन्चार्ज डा. भट्टराई नेपालबाट आइसक्नु भएको र फ्रान्सबाट अधिवेशनलाई सम्बोधन गर्न भोली १६ तारीख माल्टा आइपुग्ने बताए । उनले माल्टामा दोस्रो अधिवेशन गर्न सफल भएकोमा खुसी लागेको बताउँदै संगठनले प्रवासमा रहेका नेपालीका हकहितका पक्षमा निरन्तर काम गर्दै आएको बताए ।

लोकतान्त्रिक गणतन्त्रको रक्षागर्दै परिवर्तनका लागि प्रवासी नेपालीहरु एक भएर जनताको अधिकारलाई सुनिश्चित गर्न भूमिका खेल्नुमा उनले जोड दिए । अधिवेशनको सम्पूर्ण तयारीको काम पूरा भईसकेको संगठनका निवर्तमान अध्यक्ष सत्यनाराण झाले बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार