१६ बैशाख २०८१, आईतवार

ओलीले भने देउवाले पाँच पटक प्रधानमन्त्री भएर सुदूरपश्चिममा के काम गरे



धनगढी/ नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले सुदूरपश्चिम प्रदेशको विकासले गति पाउने दाबी गरेका छन् । कञ्चनपुरको एमाले जिल्ला अधिवेशन उद्घाटन गर्दै उनले शिक्षा र स्वास्थ्यको हब बनाएर सुदूरपश्चिमको विकास गर्नुपर्ने बताए ।

उनले देश बनाउने अभिभारा एमालेको काँधमा रहेको बताउदै पार्टीको नीति अनुसार हामी सुदूरपश्चिमको विकासलाई अगाडि बढाउने बताए । उनले भने तीन वर्ष आफू प्रधानमन्त्री हुँदा सुरु गरेका यहाँका सबै कामहरूले अब निरन्तरता पाउछन् ।

उनले सुख्खा बन्दरगाह, छेला औद्योगिक क्षेत्र निर्माणले पनि तिब्रता पाउने बताए ।

‘हामीले सुख्खा बन्दरगाह अगाडि बढाएका थियौँ त्यो काम प्रगतिहीन भयो । दैजिमा हामीले औद्योगिक क्षेत्र शिलान्यास गरेका थियौँ त्यो पनि अगाडि बढेको छैन’ ओलीले भने ‘अब सुदूरपश्चिममा औद्योगिक विकासले गति पाउँछ । यहाँका औद्योगिक विकासको लागि यही बैतडीबाट निर्वाचित दामोदर भण्डारीलाई उद्योग मन्त्री बनाएका छौँ ।’

ओलीले आफ्नो साथ सुदूरपश्चिममा रहेको भन्दै डिल्लीराज भट्टलाई प्रदेश प्रमुख बनाएको विषय पनि निकाले ।

चाँदनी दोधारामा १० क्युसेक पानी छोड्नु पर्ने सम्झौता भएको तर, त्यो अहिले कार्यान्वयन नभएको भन्दै उनले यस विषयमा कूटनीतिक कुरा गर्ने बताए । झोलुङ्गे पुल बनाएर तुइन विस्थापित गरेको भन्दै ओलीले आफू सरकार बाहिर भएपनि कुनै पनि काम अगाडि नबढेको बताए ।

‘यहाँको विकासको कामलाई अगाडी बढाइने छ । कृषिमा आधुनिकीकरण गरिने छ । आधुनिक कृषि प्रणाली लागू गरिने छ । जग्गाधनीपूर्जा उपलब्ध गराइने छ’ ओलीले भने ।

अध्यक्ष ओलीले जिल्ला नेतृत्वको लागि सक्षम र सबल नेतृत्व चयन गर्न पनि नेता कार्यकर्ताहरूलाई सुझाव दिए । ‘जनतामा राजनैतिक जागरण सामाजिक नागरिक सुरु गर्नु पर्छ त्यसको अगुवाइ नेकपा एमालेले गर्छ’ ओलीले भने ‘त्यस अनुसारको नेतृत्व अगाडी बढाउनु पर्छ । सबैले यहाँबाट सहयोग गर्नु पर्छ । ’

सर्वसम्मत मार्फत नेतृत्व चयन गर्न नभए स्वच्छ प्रतिस्पर्धा गर्न आग्रह गरेका थिए । कञ्चनपुरका प्रतिनिधि सभा, प्रदेश सभा र स्थानीय तहका सबै वडामा विजयी हुने गरेर काम गर्न समेत उनले कार्यकर्ताहरूलाई निर्देशन दिए ।

उनले भत्किएको गठबन्धनले काम गर्न नसकेको उल्लेख गरे । एमाले सरकार हुँदा पुल बाटो सुख्खा बन्दरगाह बनाउन सक्ने अरूले चाहिँ जसले गरे पनि गाली गरेर बस्ने हो ’ उनले सोधे ‘शेरबहादुर देउवा पाँचपटक प्रधानमन्त्रीलाई भएर के गर्नु भयो केही गर्न सक्नुभएन । ’

आफूले तीन वर्षमै थुप्रै काम गरेको र जनताले त्यसको महसुस गरेको पनि ओलीले दाबी गरे । उनले अहिले सरकार समस्या समाधान गर्न लागिपरेको बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार