१६ बैशाख २०८१, आईतवार

महिलालाई नेतृत्व दिनुपर्छ भन्दै मनाइयो ११४ औं महिला दिवस




(युरोप)/ महिलालाई नेतृत्व दिनुपर्छ भन्दै माल्टामा पहिलो पटक ११४ औं अन्तराष्ट्रिय महिला दिवस मनाइएको छ । गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् माल्टा अन्तर्गतको महिला फोरमको आयोजनामा मार्च ९ शनिबारका दिन माल्टामा पहिलो पटक नेपालीहरुद्धारा महिला दिवस मनाइएको हो ।

कार्यक्रमका सहभागीहरुले सामाजिक आर्थिक र राजनैतीक परिवर्तनका लागि महिलालाई नेतृत्व दिनुपर्नेमा सबैले जोड दिएका थिए । जवसम्म महिलाहरुले नेतृत्व पाउदैनन् तबसम्म विकासले अर्थपूर्ण गतिलिन नसक्ने उनीहरुले बताएका थिए ।

युरोपमा महिलाहरु स्वतन्त्रछन् आत्मनिर्णयको अधिकारलाई प्रयोग गर्दै आत्मसम्मानका साथ बाँचेको देख्न सकिन्छ । तर नेपालमा पृतिसत्तात्मक सोचका कारण महिलाहरु पछाडी परेकोले पृतिसत्तात्मक सोचको अन्त्य नभएसम्म नेपाली महिलाहरु आत्मसम्मानका साथ बाँच्न नसक्ने तितो अनुभव समेत सुनाएका थिए । युग परिवर्तनको आन्दोलनमा होमिएका साहासी नेपाली महिलाहरुलाई जबरजस्ती पछाडि पार्ने सामाजिक विभेदका विरुद्ध सबैएक भएर लाग्नुपर्ने उनीहरुले बताए ।

गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् माल्टाकी पूर्व सल्लाहकार,अन्तराष्ट्रिय झापाली समाजको सल्लाहकार एवम् कार्यक्रमको प्रमुख अतिथि शर्मिला बस्नेतले गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् माल्टाले अगुवाई गरेर महिला दिवस मनाउनमा महत्वपूर्ण भूमिका खेलेको भन्दै एलआरएनए माल्टाको प्रशंसा गरिन् । विदेशको भूमिमा पनि रोजगारको सिलसिलामा आएका नेपाली महिलाहरुले महिला दिवस मनाउनु पनि सफलता हो । यो कार्यक्रम सफल पार्न महिलालाई सहयोग गर्ने पुरुषहरुकै जस्तो सकारात्मक सोच सबैको हुने हो भने महिलाहरु सजिलै नेतृत्वमा पुग्ने बस्नेतले बताइन् ।

कार्यकममा चारवटा विषयबस्तु माथि समूह बनाई घनिभूत रुपमा छलफल गरिएको थियो । चिकित्सा र मातृत्व हेरचाह, महिला कर्मचारी र जागिरका अवसरहरु, महिला स्वामित्वको व्यवसाय र उद्यमशीलता सशक्तिकरणका साथै महिला उपलब्धिहरुको विषयमा सबु भण्डारी, सबनम गुरुङ, ममता श्रेष्ठ, धनु लामा र काव्य कटुवालले प्यानल डिसकस गरेका थिए ।

एनआरएनए माल्टाका अध्यक्ष रेमलाल खनाल (रेम्स) ले महिलाहरुले नेतृत्व पाउनुपर्ने र नेतृत्व दिनलाई सबै तयार हुनुपर्ने बताए । समानता र परिवर्तनका लागि महिलाहरु नेतृत्वमा अनिवार्य रुपमा आउनुपर्नेमा खनालले जोड दिए । एनआरएनए माल्टाका निवर्तमान अध्यक्ष एवम् युरोप क्षेत्रीय सचिव भुवन अर्यालले महिला र पुरुषमा हुने सामाजिक विभेदको पूर्णरुपमा अन्त्य हुनुपर्ने भन्दै आर्थिक आम्दानीका काममा महिलाहरुलाई अवसर दिनुपर्ने बताए ।
गैर आवासीय नेपाली संघ एनआरएनए महिलाहरुलाई नेतृत्व प्रदान गर्न सधैं अग्रसर रहेको उनले बताए ।

त्यसैगरी गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् माल्टाका सल्लाहकार हरी बिसीले महिला शसक्तिकरण भएपछि मात्र विकास सम्भव हुने बताउँदै माल्टामा महिला दिवस मनाउनु पनि उपलब्धि भएको बताए ।

कार्यक्रमका सहभागी उदयबाबू श्रेष्ठले कार्यक्रम निकै प्रभावकारी रहेको बताए । सामाजिक अभियन्ता एवम् महिला अगुवाकर्मी सम्झना लामीछानेको अध्यक्षतामा भएको कार्यक्रमको संचालन एनआरएनए माल्टाका सचिब ममता श्रेष्ठले गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार