१५ बैशाख २०८१, शनिबार

ट्रकमा भिषण आगलागीपछि कर्णाली पुलमा आवागमन बन्द



धनगढी/ नेपालको पूर्वी भागसंग सुदूरपश्चिम प्रदेशलाई जोड्ने सुदूरको ‘लाइफ लाइन’ मानिने चिसापानीस्थित कर्णाली पुलमा आगलागी भएपछि आवागमन बन्द गरिएको छ ।

सोमबार भएको आगलागीबाट पुलमा क्षति भएपछि आवागमन बन्द गरिएको हो । अपराह्नतिर गुडिरहेको ट्रकमा लागेको आगो दन्केर पुलमा पनि सल्किएको थियो ।

जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जोशीका अनुसार पूर्व–पश्चिम राजमार्ग रहेको सो पुलमा क्षति पुगेपछि सवारी साधनहरुहरु वैकल्पिक बाटो भएर गन्तव्यतर्फ गइरहेका छन् ।

कर्णाली पुलमा समस्या आएपछि लम्की, टीकापुर, सत्ती पुल हुँदै बर्दियाको राजापुर हुने गरेर हुलाकी राजमार्ग भएर सवारी साधनहरुको आवतजावत भइरहेको उनले बताए ।

विरगञ्जबाट लाइटर बोकेर कञ्चनपुरको लागि आउँदै गरेको ना ५ ख ५२९७ नम्बरको ट्रकमा एक्कासी आगलागी भएको थियो । लाइटर एक आपसमा ठोक्किएर पड्किएपछि ट्रकमा आगो लागेको हुन सक्ने बताइएको छ । आगलागीबाट पुलमा गम्भीर क्षति भएको लम्कीचुहा नगरपालिका–४ का वडाअध्यक्ष ताराप्रसाद अधिकारीले बताए ।

उनका अनुसार पुलको दक्षिणतर्फको भागसहित पुललाई अड्याउन मदत गर्ने फलामे लट्ठा (तार), सल्यापमा क्षति पुगेको छ । पुलमा धेरै क्षति भएका कारणले प्राविधिक टोलीले सबैकुराको अध्ययन नगरेसम्म आवतजावत गर्न नहुने अधिकारीले बताए ।

सन १९९३ मा बनेको यो पुल एक खम्बामा तारहरुको मदतले अडिएको छ । कर्णाली पुल बनेपछिमात्रै सुदूरपश्चिम प्रदेश कर्णाली नदीभन्दा पूर्व रहेको नेपालको भू–भागसंग जोडिएको थियो ।

विदेशमा यस्ता पुल बनेपछि हरेक वर्ष मर्मत गरिने गरिए पनि उद्घाटन भएको करिब ३१ वर्षसम्म पनि कर्णाली पुलको मर्मत नभएको वडा अध्यक्ष अधिकारीले बताए । उनले गुनासो गर्दे भने यो पुलको अहिलेसम्म एउटा नटबोल्ट बाँध्ने कार्य पनि भएको छैन ।

पछिल्लो समय हुलाकी सडक अन्तर्गत कर्णाली नदीमा सत्ती पुल पनि बनेकाले कर्णाली पुल बन्द भएको बेला वैकल्पिक तरिकाले सवारी साधन चनाउन सम्भव भएको हो ।

आगो लागेर ट्रक र त्यसमा रहेको लाखौं रुपियाँ बराबरको लाइटर नष्ट भएको जनाइएको छ । यसैबिच, कर्णाली पुलमा आगलागीबाट भएको क्षतिको मङ्गलबार सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह र कैलालीका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले निरीक्षण गरे ।

पुलमा भएको क्षतिको ऐकिन विवरण निकाल्नका लागि प्राविधिकहरुको टोली खटाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार