१७ बैशाख २०८१, सोमबार

मुख्यमन्त्री शाह बहुमत जुटाउने विश्वासमा, उन्मुक्तीसित आलोपालो गर्ने प्रयास



धनगढी / नेकपा माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी) पार्टीले समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले आफ्नो पक्षमा बहुमत जुटाउने लागि परेका छन् । उनले आफूपछि उन्मुक्तीलाई मुख्यमन्त्री बनाउन खोजेका छन् ।

शाहले बहुमत पुगाउन राप्रपा र स्वतन्त्र प्रदेशसभा सदस्यलाई मन्त्रीको प्रस्ताव गरेका छन् । नागरिक उन्मुक्ति पार्टीसहितको सरकार बनाउन सहमति भइसकेको भन्दै मुख्यमन्त्री शाहले राप्रपाकी खेमादेवी बिष्ट र स्वतन्त्र प्रदेशसभा सदस्य डा. तारादत्त जोशीलाई मन्त्री बन्न प्रस्ताव गरेका हुन् ।

उनीहरु दुवै जनालाई बिहीबार नै मन्त्रीमा नियुक्त गर्ने भन्दै मुख्यमन्त्री शाहकै आग्रहमा अछाम जान लागेका प्रदेश प्रमुख देवराज जोशी डडेल्धुराबाट फर्किरहेका छन् । प्रदेश प्रमुखको कार्यालय र मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका कर्मचारीलाई समेत कार्यालयमै रोकिएको छ ।

एकीकृत समाजवादीले छाडेको आर्थिक मामिलामन्त्री स्वतन्त्र सांसद जोशीलाई प्रस्ताव गरिएको स्रोतले जनाएको छ भने राप्रपालाई सामाजिक विकास वा उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालय लिन प्रस्ताव गरिएको छ ।

राप्रपाका एक नेताले मुख्यमन्त्री र नागरिक उन्मुक्ति पार्टी समेतबाट मन्त्रीको प्रस्ताव आएको पुष्टि गर्दै त्यसबारे कुनै निर्णय नभएको बताए । ‘संघमा हामी प्रतिपक्षमा छौँ । आन्दोलन घोषणा गरिएको अवस्था छ,’ ती नेताले भने, ‘तर उहाँहरुले मन्त्रीको प्रस्ताव गर्नुभएको छ । अहिलेसम्म कुनै निर्णय भएको अवस्था छैन ।

पर्ख र हेरको अवस्थामा रहेको भनिएको नागरिक उन्मुक्ति पार्टीले समेत राप्रपालाई सरकारमा सामेल हुन आग्रह गरेको छ । स्वतन्त्र प्रदेशसभा सदस्य डा. जोशीले भने नाउपाको भूमिका प्रष्ट भइनसकेका कारण अहिले नै सरकारमा जानेबारे निर्णय लिइनसकेको बताएका छन् ।

तर मुख्यमन्त्री शाहले भने बिहीबार रातिसम्म भएपनि दुवै जनालाई मन्त्रीमा नियुक्त गर्नेगरि प्रदेश प्रमुखलाई बाटोबाटै फर्किन आग्रह गरेका हुन् । प्रदेश प्रमुख जोशी बैद्यनाथ धाममा लागेको कोटिहोमको समापन समारोहमा सहभागी हुन जादै थिए ।

उनी बाटोबाटै फर्किएको प्रदेश प्रमुखको कार्यालयले पुष्टि गरेको छ । सुदूरपश्चिममा मुख्यमन्त्री शाहलाई कांग्रेसका १८ र नागरिक उन्मुक्ति पार्टीका ७ जना प्रदेशसभा सदस्यको समर्थन छ । राप्रपा र स्वतन्त्र सांसद सरकारमा सामेल भए उनको पक्षमा २७ जना बहुमत सांसद पुग्छन् ।

संघीय सरकारका साझेदार एमाले, माओवादी र समाजवादीसंग भने २४ मत रहेको छ । सुदूरपश्चिम प्रदेश सभामा एमाले र माओवादीका १०/१० समाजवादीका चार जना रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार