१७ बैशाख २०८१, सोमबार

१२ वर्षपछि भानुभक्त फेरि मन्त्री भएपछि



धनगढी/ नेपालीमा एउटा उखान प्रसिद्ध छ १२ वर्षपछि खोलो फर्किन्छ बझाङका भानुभक्त जोशीको जीवनमा पनि त्यस्तै भएको छ । बझाङबाट निर्वाचित प्रतिनिधिसभा सदस्य भएका जोशी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री भएका छन् ।

०७९ को प्रतिनिधिसभा सदस्य निर्वाचनमा तत्कालीन सत्तारुढ गठबन्धन (पाँच दल) का तर्फबाट चुनाव जितेका नेता जोशी १२ वर्षपछि मन्त्रीमण्डलमा फर्किएका छन् ।

नेकपा एमालेका युवा नेता ऐन महरलाई पराजित गरेका जोशी २०६८ सालमा झलनाथ खनालको सरकारमा वनमन्त्री थिए । हाल उनी जोशी शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति सभापति थिए ।

जोशी साढे चार दशकदेखि राजनीतिमा छन् । गत निर्वाचनमा भने उनले एकीकृत समाजवादीबाट चुनाव जितेका थिए । यसअघि उनले २०५१ र २०६४ मा एमालेका तर्फबाट निर्वाचित भएका थिए । उनले २०४८ को चुनावमा भने पराजय भोग्नु परेको थियो ।

छविसपाथिभेरा गाउँपालिकाका स्थायीबासी जोशी २०३६ सालमा नेपालगञ्जको शिक्षा क्याम्पसमा अनेरास्ववियूबाट राजनीति प्रारम्भ गरेका हुन् ।

२०४६र४७ सालको आन्दोलनमा उनी विद्यार्थी संगठनबाट अग्रपंतिमा रहेर काम गरे । आन्दोलनकै बेलामा नेकपा मालेको जिल्ला सचिवको रुपमा काम गरेका जोशी एमालेको वैकल्पीक र पूर्ण केन्द्रीय सदस्य समेत बनेका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार