१७ बैशाख २०८१, सोमबार

काँग्रेस नेतृत्वको सुदूरपश्चिम सरकार बहुमतमै



धनगढी/ सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले नेकपा (माओवादी केन्द्र ) का दुई जना मन्त्री र राज्यमन्त्रीलाई बर्खास्त गरे पनि तत्काल सरकार बहुमतमै रहने भएको छ ।

नागरिक उन्मुक्ती पार्टीले अर्को निर्णय नगरेसम्म मुख्यमन्त्री शाहको सरकार कायम रहने भएको छ । यद्यपी यो सरकार कायम रहन नेकपा (एकीकृत समाजवादी) को पनि साथ आवश्यक छ । उन्मुक्ती र समाजबादी अहिलेसम्म अन्योलमै छन् । दुईवटै पार्टीले सङ्घीय सरकारको विस्तारलाई पर्खिरहेका छन् ।

सङ्घीय सरकारमा कांग्रेस, माओवादीको गठबन्धन भंग भएपछि मुख्यमन्त्रीले माओवादी मन्त्रीलाई हटाएका हुन । मुख्यमन्त्री शाह नेपाली कांग्रेस संसदीय दलका नेता हुन ।

उनले मंगलबार पत्रकार सम्मेलन गरेर मन्त्रीहरुलाई हटाएको बताएका थिए ।

हटाइएका मन्त्रीहरुमा उद्योग पर्यटन वन तथा वातावरणमन्त्री रमेश धामी, सामाजिक विकास मन्त्री झपट साउँद र उद्योग राज्यमन्त्री गितादेवी माल रहेका छन् ।
माओवादी सरकारबाट हटे पनि तत्काल भने सरकार पक्षमा ३० जना रहेका छन । सरकार कामय रहन २७ मत आवश्यक पर्छ ।

अहिले कांग्रेसका १८, उन्मुक्तीका सात, समाजवादीका चार र स्वतन्त्रका एक गरेर ३० जनाको मुख्यमन्त्री शाहलाई समर्थन रहेको छ ।

माओवादीका १० प्रदेश सभा सदस्य छन् । यस्तै राप्रपाका एक सदस्य रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार