१७ बैशाख २०८१, सोमबार

कैलाली कांग्रेसका सभापति र उपसभापतिबीच माइनट खोसाखोस




धनगढी/ नेपाली काँग्रेस कैलाली जिल्ला कार्य समितिको बैठकमा सभापति र उपसभापतिबीच बैठकपुस्तिका खोसाखोस भएको छ ।

जिल्ला कार्यसमिति बैठकमा उपसभापति भीम बडूवालको बैठक पुस्तिकामा नाम नलेखेपछि सभापति नारायणदत्त भट्ट र उपसभापति बडूवालबिच बैठकपुस्तिका खोसाखोस भएको हो ।

बैठक पुस्तिका खोसाखोस हुँदा जिल्ला कार्यसमितिको बैठक स्थगित भएको छ । काँग्रेस जिल्ला कार्यसमितिको बैठक कैलालीको मोहन्याल गाउँपालिका–१ चोसेकाँडामा राखिएको थियो ।

आफ्नो नाम किन माइन्यूटमा उल्लेख नगरिएको भन्दै सभापति भट्टसँग उपसभापति बडूवाल झोक्किनु भएको थियो । बैठक सुरु नहुँदै बैठकपुस्तिका आफ्नो कब्जामा उहाँले लिनुभयो । जिल्ला अनुशासन समितिले अनुशासन कारबाहीका लागि प्रदेश अनुशासन समितिमा पत्र पठाएको हुँदा बडूवालको नाम बैठक पुस्तिकामा उल्लेख गर्न नसकिने सभापति नारायणदत्त भट्टले बताए।

जबसम्म प्रदेश अनुशासन समितिबाट पत्र आउँदैन, तबसम्म नाम माइन्यूटमा उल्लेख नगर्ने सभापति भट्टले बताए ।

गत साउन २२ गते पार्टी सभापति नारायणदत्त भट्टले कैलाली क्षेत्र ४ का नेताद्वय लोकराज पाण्डे (आगो) र सुरतबहादुर कार्कीलाई कारबाही गरेपछि उपसभापति भीम बडूवालले कारबाही विधिसम्मत नभएको भन्दै लेटरप्याडमा अर्को सूचना जारी गरेको थियो । त्यसै दिनदेखि सभापति भट्ट र उपसभापति बडूवालबिच खुल्ला रूपमा मतभेद सुरु भएको थियो ।

कैलाली जिल्ला अनुशासन समितिले भाद्र २६ गते उपसभापति बडूवालले जिल्ला कार्यसमितिको पत्र, चलानी नम्बर र छाप अनाधिकृत रूपमा प्रयोग गरेको भन्दै प्रदेश अनुशासन समिति सुदूरपश्चिम प्रदेशमा पत्र पठाएको थियो ।

यता उपसभापति बडूवालले यसअघि नै प्रदेश सभापति, उपसभापति जिल्ला सभापति आफू र अनुशासन आयोगका दुई जना बसेर छलफल भएको विषयलाई पनि जिल्ला सभापतिले कार्यान्वयन नगरेको बताए ।
उक्त बैठकमा आमन्त्रितको रुपमा सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह रहेका थिए।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार