१६ बैशाख २०८१, आईतवार

मेरो राजनीति समाप्त गर्ने डिजाइन अनुसार जिम्मेवारी खोसियो : भट्ट



धनगढी / नेकपा (माओवादी केन्द्र ) को स्थायी समिति सदस्य खगराज भट्टले आफ्नो जिम्मेवारी खोसिएको विषयलाई लिएर गम्भीर असहमति जनाएका छन् ।

सो पार्टीले उनलाई सुदूरपश्चिम प्रदेशसभाको संसदीय दलको नेताबाट हटाउने बहुमत सांसदको निर्णय अनुमोदन गरेर सुदूरपश्चिम इन्चार्जको जिम्मेवारी पनि खोसेको छ । बुधबार बसेको स्थायी समिति बैठकले सो निर्णय गरेको हो ।

यसै बीच नेता भट्टले बुधबार बेलुका पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई एक पत्र लेखी भट्टले स्थायी समितिको निर्णयले आफ्नो व्यक्तिगत र राजनीतिक जीवन समाप्त पार्न खोजेको बताएका छन् । उनले पार्टीको निर्णयले आफ्नो ३४ वर्षको राजनीतिक र संगठनात्मक जीवन समाप्त भएको बताएका छन् । उनले सो निर्णय डिजाइन अनुसार भएको पनि अध्यक्ष प्रचण्डलाई लेखेको पत्रमा उल्लेख गरेका छन् ।

उनले सुदूरपश्चिममा पार्टीभित्र देखापरेको अराजकतालाई निरुत्साहित गर्छ कि प्रोत्साहित भन्ने प्रश्न पनि अध्यक्ष प्रचण्डलाई गरेका छन् ।

पत्रमा उनले सोधेका छन् यो निर्णयले पार्टीलाई जीवन ठान्ने इमान्दार कार्यकर्तालाई उत्साहित गर्छ कि निराशतामा धकेल्छ । पार्टी संस्थागत निर्णयबाट सञ्चालन हुन्छ कि अमुक व्यक्तिको चाहनाबाट उनको अर्को प्रश्न छ ।

उनको अर्को प्रश्न छ अराजकतालाई दण्डित गर्नुपर्ने अवस्थामा झन् प्रश्रय दिएको छ यो कदमले पार्टीमा दण्डहीनताले कस्तो रुप लिन्छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार