२२ बैशाख २०८१, शनिबार

हाम्रो संस्कृतिको प्रवासमा पनि संरक्षण गर्नुपर्छ



युरोप/ गैरआवासीय नेपाली संघ माल्टाका अध्यक्ष रेमलाल खनालले विदेशमा पनि नेपाली संस्कृतिको संरक्षण गर्नुपर्ने बताएका छन् । मगर समाज माल्टाले युरोपको माल्टामा शनिबार आयोजना गरेको ४२ औं मगर एकता दिवस कार्यक्रमलाई प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै अध्यक्ष खनालले यस्तो बताएका हुन ।

नेपालीहरुले कामको सिलसिलामा विदेशको जुनसुकै ठाउँमा पुगेपनि आफ्नो संस्कृतिको संरक्षण गर्नुपर्नेमा उनले जोड दिए । मगर समाज माल्टाले आफ्नो पहिचान झल्किने गरेर मगर पहिरन लगाएर एकता दिवस मनाएकोले माल्टामा पनि नेपाली संस्कृति चिनाउने काम भएको खनालले बताए ।

माल्टामा रहेका विभिन्न नेपाली समाजद्धारा आयोजना गरिने कार्यक्रमले नेपालीको पहिचान झल्काएको छ । हाम्रा रीतिरिवाज मौलिक संस्कृतिले विदेशमा पनि नेपाललाई चिनाउने काम गरेकोले एकआपसमा हामीसबै मिलेर नै अगाडि बढ्नुपर्ने उनले बताए ।

मगरहरुले फागुन १५ गते मनाउने मगर एकता दिवस माल्टामा भने कामको व्यस्तताले गर्दा फागुन १२ गते अगाडि नै मनाएको मगर समाज माल्टामा अध्यक्ष रमन थापा मगरले बताए । देश बाहिर रहेर पनि मगर जातीको सभ्यताको संरक्षण गर्नका लागि साँस्कृतिक कार्यक्रम आयोजना गरेर दिवस मनाएको उनले बताए ।

दिवसको अवसरमा आयोजना गरिएको सांस्कृतिक कार्यक्रममा नेपालीहरुले गीत गाउँदै नृत्य समेत प्रस्तुत गरेका थिए । कार्यक्रममा सहभागी भएका नेपाली र विदेशी नागरिकले एकसाथ गीतसंगितमा झुमीझुमी नाँचेका थिए । कार्यक्रममा सहभागी हुन माल्टाका नेरी व्हिलचेयरमा आएका थिए ।

शारीरिक रुपमा असक्त नेरीले नेपाली गीतमा व्हिलचेयरमा बसेर नै कार्यक्रम स्थलमा नाँचेर उनले सबैको ध्यानकेन्द्रित गरेका थिए । नेपाली संस्कृित धेरै राम्रो लागेको उनले बताए । सरबियाका नागरिक निलोसले पनि पहिलो पटक नेपाली गीतमा आफू नाँचेको भन्दै नेपाली संस्कृति धेरै राम्रो लागेको बताए ।

त्यसैगरी फिलिपिन्सका नागरिक मारियोले कार्यक्रममा नेपाली संस्कृति देख्न पाउदा आफूलाई खुसी लागेको बताए । नेपाल स्याङ्जा घरभई हाल गैरआवासीय नेपाली संघ माल्टाका भुतपुर्व महासचिब समेत रहेका रोशन गिरीले आफू मगर समुदायमा हुर्केकोले मगर संस्कार र संस्कृति आफूलाई मनपर्ने बताए ।

कार्यक्रम सफल पार्न र साँस्कृतिक कार्यक्रममा कला प्रस्तुत गर्नेहरुलाई आयोजकले सम्मान पत्रले सम्मान गरेको पत्रकार अशिम लोपचनले बताए । संयुक्त रुपमा नृत्य प्रस्तुत गरे वापत आफू सम्मानित भएको छिरिङ लामा र अनिश सुनारले जानकारी दिए । कार्यक्रममा आप्रवासी नेपाली, विदेशी नागरिक र माल्टामा रहेका नेपाली विभिन्न सामाजिक संघसंस्थाका प्रतिनिधिको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार