१७ बैशाख २०८१, सोमबार

एमाले कैलालीको अध्यक्षमा ढुंगाना, उपाध्यक्षमा शाही, सचिवमा चौधरी, उपसचिवमा भट्ट र शाही विजयी



धनगढी / नेकपा (एमाले) कैलालीको अध्यक्षमा यज्ञराज ढुंगाना विजयी भएका छन् । पूर्व प्रदेश सचिवालय सदस्य समेत रहेका ढुंगाना प्रतिद्वन्द्वी डेजी पाण्डेलाई पराजित गर्दै विजयी भएका हुन् ।

ढुंगानाले २८७ मत प्राप्त गर्दा पाण्डेले २१८ मत ल्याएका छन् । अध्यक्षका प्रतिद्वन्द्वी दुर्गाप्रसाद जोशीले ६३ मत पाए । उनी हालका कार्यवाहक अध्यक्ष समेत हुन् ।

अध्यक्षमा तीन जनाले प्यानलसहित उम्मेदवारी दिएका थिए । यस्तै उपाध्यक्षमा पाण्डे प्यानलका लोकेन्द्रबहादुर शाही पाँच मतले विजयी भएका छन् । उनले एक सय ९३ मत पाउँदा प्रतिद्वन्द्वी दलबहादुर विष्टले एक सय ८८ मतमा चित्त बुझाएका छन् ।

उपाध्यक्षका उम्मेदवार विष्णु चौधरीले १०६ मत, मदनराज ओझाले ३३ मत र गजेन्द्र स्वारले २७ मत ल्याएका छन् ।

सचिवमा भने पाण्डे प्यानलका ममताप्रसाद चौधरी विजयी भएका छन् । चौधरी २४३ मतसहित विजयी हुँदा उनका प्रतिद्वन्द्वी ढुंगाना प्यानलका विष्णुकुमार चन्दले १६८ मत मात्रै पाएका छन् ।

सचिवकै अर्का उम्मेदवार दानबहादुर विश्वकर्माले १४७ मत प्राप्त गरेका छन् । उपसचिव (खुला) मा भने ढुंगाना प्यानलका चुडामणी भट्ट विजयी भएका छन् ।

भट्ट २५१ मत पाएर विजयी हुँदा उनका प्रतिद्वन्द्वी भुवन रिजालले १२३ मत पाए । यस्तै अर्का उम्मेदवार नृप थ्यायत खड्काले ९५ र राजु गुरूङले ७१ मत पाएका छन् ।

उपसचिव (महिला) मा गंगाकुमारी चौधरी १९६ मतसहित विजयी भएकी छन् ।उनकी प्रतिद्वन्द्वी शान्तिदेवी सिंहले १६१, रत्ना कुँवर जोशीले ९४ र अम्बिका विष्टले ९० मत पाएकी छन् ।

फागुन ६ गते सुरू भएको एमाले नवौँ अधिवेशनमा छैटौं दिन शुक्रबार मात्र मतदान भएको थियो । कुल ५९१ प्रतिनिधि रहेकोमा ५७७ मत खसेको थियो ।

शनिबार रातिदेखि पदाधिकारीको मतगणना गरिएको थियो भने सदस्यको मत गणना अब हुने निर्वाचन कमिटीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार