२२ बैशाख २०८१, शनिबार

एमाले कैलाली अधिवेशन गणेश ठगुन्नाको असफलता, कि केन्द्रको षड्यन्त्र



धनगढी/ नेकपा (एमाले) को कैलाली जिल्ला कमिटीको अधिवेशनमा पाँच दिनसम्म पनि पूरा हुन सकेको छैन । बिहीबार हुने भनिएको मतदान अनिश्चितकालका लागि स्थगित गरिएको छ ।

फागुन ६ गते शुरु भएको अधिवेशन १० गते रातिसम्म पनि सकिएको छैन । बिहीबार दिउँसो १२ बजेदेखि साँझ ५ बजेसम्म नेतृत्व चयनका लागि मतदान हुने तय गरिएको थियो तर साढे ५ बजे प्रमुख निर्वाचन अधिकृत मानबहादुर जोराले सूचना जारी गर्दै अर्को सूचना जारी नभएसम्म मतदान स्थगित गरिएको जानकारी दिएका छन् ।

यसअघि मंगलबार र बुधबार पनि मतदानको तालिका सार्वजनिक गरिएको थियो तर अन्तिम समयमा आएर स्थगित गरिएको थियो ।

बिहीबार पनि मतदान हुने प्रतिक्षामा रहेका अधिवेशन प्रतिनिधिले अन्तिम समयमा आएर निर्वाचन कमिटीले स्थगित गरेपछि मतदान हुनुपर्ने माग गर्दै नाराबाजी गरेका छन् । तर निर्वाचन कमिटीले भने प्राविधिक कुरा मिलाउनुपर्ने भएकाले मतदान सुरु गर्न नसकेको बताएका छन् ।

कैलालीमा हालका कार्यवाहक अध्यक्ष दुर्गाप्रसाद जोशी, सचिव डेजी पाण्डे र पूर्व सचिवालय सदस्य यज्ञराज ढुंगाना प्यानलसहित प्रतिस्पर्धामा छन् ।

अध्यक्षका उम्मेदवार जोशी र पाण्डेले बिहीबार नै चुनाव गराउन खोजे पनि अध्यक्षका उम्मेदवार ढुंगाना र अध्यक्षमण्डलका अध्यक्ष समेत रहेका कैलाली इन्चार्ज र पोलिटव्यूरो सदस्य गणेश ठगुन्ना सम्पर्कविहिन भएपछि निर्वाचन कार्यक्रम अनिश्चितकालका लागि स्थगित गरिएको थियो ।

कैलाली इन्चार्ज ठगुन्नाले अधिवेशन पूरा गर्न गम्भीरता नदेखाउदा चुनाव हुन नसकेको भन्दै नारावाजी समेत भएको छ ।

कतिपयले एमालेका केन्द्रीय महासचिव शंकर पोखरेलले आफू अनुकुलका ढुंगाना जित्ने वातावरण नहुँदासम्म अधिवेशन लम्ब्याउन निर्देशन दिएकोले चुनाव हुन नसकेको आरोप लगाएका छन् ।

कैलालीमा स्थायी समिति सदस्य कर्णबहादुर थापा, अध्यक्ष ओली निकट नारदमुनी राना र केन्द्रीय सदस्य झपट रावलले पाण्डे, महासचिव शंकर नजिक रहेकाकेन्द्रीय सदस्य दामोदर भण्डारीले ढुंगाना र अध्यक्ष ओली र महासचिव पोखरेलसंग समदूरी बनाइरहेका केन्द्रीय सचिव लेखराज भट्टले जोशीलाई अध्यक्ष बनाउन खोजेका छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार