१५ बैशाख २०८१, शनिबार

आफ्नो मूल्यांकन गर्नुस, हार्नेले फिर्ता लिनुस, मेरो उम्मेदवार कोही छैन



सुख्खड/ नेकपा (एमाले) अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपीशर्मा ओलीले सो पार्टीको कैलाली जिल्ला अधिवेशनको उद्घाटन गर्दै मिसन ८४ लाई सफल पार्न सर्वसम्मतिले नेतृत्व चयन गर्दा उपयुक्त हुने बताएका छन् ।

आइतवारदेखि घोडाघोडीमा शुरु भएको छ नवौं जिल्ला अधिवेशनलाई सम्वोधन गर्दे अध्यक्ष ओलीले सक्षम र योग्य व्यक्तिले नेतृत्व गर्नु पर्छ, सके सर्वसम्मतिले नेतृत्व छान्नुपर्छ नभए स्वस्थरुपमा लोकतान्त्रिक विधि अपनाउनु ठिक हुने बताए ।

सकेसम्म आफ्नो मूल्यांकन सही ढंगले गरेर चुनावमा जादै नजानु , चुनावमा जानै पर्ने भए, जीत, हार हुन्छ स्वीकार गर्नु सक्नुपर्छ, उम्मेदवार भएर हार्नु भन्दा अहिले नै छोड्न राम्रो हुन्छ, जित्नेले जुलुस गर्ने होइन हार्नेलाई कसरी मिलाएर जाने भन्नेमा पनि ध्यान दिनुपर्छ उनले सुझाव दिदै भने ।

पार्टीको गुटवन्दी, अराजक, अनुशासनहिन गतिविधीले पार्टी नचल्ने उल्लेख गर्दै पार्टीमा राम्रो आचरण, सक्रिय, स्पष्ट विचार भएको व्यक्ति नेतृत्वमा आउनुपर्ने पनि उनले बताए । उनले भने आफ्नो कोही पनि उम्मेदवार नभएको र कसैले म अध्यक्ष ओलीको उम्मेदवार हुँ भनेर भ्रम पार्न खोजे गलत हुने बताए ।

आफूले भनेको भएन भने अराजक कार्य गर्ने, विधिविधान मिचेर पार्टी संगठन बलिलो नहुने बताउदै अध्यक्ष ओलीले नीति र विधि पालना गर्नुपर्ने बताए ।

पूर्वप्रधानमन्त्री समेत रहेका ओलीले आफ्नो कार्यकालमा गरेका कामलाई अहिलेको सरकारले निरन्तरता नदिएको आरोप लगाए । उनले भने म प्रधानमन्त्री भएको बेला अर्थतन्त्र सुधारिएको थियो, उत्पादन वृद्धि भएको थियो । पूर्वाधारको विकास भएको थियो, एकै दिनमा २१० वटा पालिका सदरमुकाम जोड्ने सडक, ३९६ वटा पालिका स्तरमा अस्पताल निर्माण शिलान्यास गरेको थिए, आज ती योजना अलपत्र छन् , ती आयोजना कहाँ गए ।

अध्यक्ष ओलीले भने चुनावदेखि चुनाव होइन ,देशमा समृद्द र विश्वले हेर्नलायक देश वनाउन एमाले लागि परेको छ दावी समेत गरे । उनले हामीलाई यो देशमा सुशासन ल्याउनु छ, रोजगारीको अवसर सृजना गर्नु छ, जनताको जीवनमा परिवर्तन ल्याउनु छ त्यसैले एमालेलाई बलियो बनाउन आग्रह गरे ।

दुई दिनसम्म सञ्चालन हुने जिल्ला अधिवेशनले अध्यक्ष, उपाध्यक्ष, सचिव र उपसचिव सहित १५० सदस्यीय कमिटी चयन गर्ने छ । जिल्ला अध्यक्षका लागि दुर्गाप्रसाद जोशी, डेजी पाण्डे र यज्ञराज ढुङ्गानालगायतले उम्मेदवारी दिने सम्भावना छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार