१० श्रावण २०८१, बिहीबार

लोकेन्द्रबहादुर चन्दको नागरिक अभिनन्दनको खर्च सार्वजनिक



धनगढी/ गत साता धनगढीमा पूर्वप्रधानमन्त्री एवं वरिष्ठ साहित्यकार लोकेन्द्रबहादुर चन्दलाई नागरिक अभिनन्दन गर्दा लागेको खर्चको विवरण सार्वजनिक गरिएको छ ।

शनिबार धनगढीमा पत्रकार सम्मेलन गरेर मूल समारोह समितिले खर्च विवरण सार्वजनिक गरेको हो ।

समारोह आयोजनाका लागि कुल छ लाख छ हजार ३३२ रुपियाँ सङ्कलन भएकोमा नागरिक अभिनन्दन कार्यक्रममा सात लाख नौ हजार १६६ रुपियाँ खर्च भएको नागरिक अभिनन्दन गरेको मूल आयोजक समिति संयोजक मायाप्रकाश भट्टले बताए ।

उनले अनुसार ८० हजार तीन सय रुयियाँ सङ्कलन हुन बाँकी रहेको छ, सो रकम सङ्कलन भएमा जम्मा आम्दानी छ लाख ८६ हजार ६३२ रुपियाँ हुने बताए ।

आम्दानी र खर्चको विवरण हेर्दा २२ हजार ५३४ रुपियाँ घाटा भएको छ । ‘हामीले खर्च जोगाउने प्रयास गरेकै हौं । अभिनन्दका लागि सरकारी तहबाट सहयोग भएको थिएन । व्यक्तिहरूले नै सक्दो सहयोग गरेका थिए ।

अभिनन्दनका क्रममा हामीले उहाँको ग्रन्थ पनि सार्वजनिक गरेका छौं । अब सो पुस्तकलाई बेचेर घाटा भएको रकम सङ्कलन गर्ने हाम्रो योजना छ । निःशुल्क वितरण गर्नुपर्ने ठाउँमा गरेर बाँकी रहेका पुस्तकलाई प्रतिपुस्तक पाँच सय रुपियाँका दरले बिक्री गरिने समिति संयोजक भट्टले पत्रकार सम्मेलनमा बताए ।

नेपाली साहित्य क्षेत्र र राजनीतिमा र्पुयाएको योगदानको उच्च सम्मान गर्दै ८४ औं वसन्त पूजनको अवसरमा चन्दलाई यही फागुन ३ गते धनगढीमा नागरिक अभिनन्दन गरिएको थियो ।

चार पटक प्रधानमन्त्री भएका चन्दका हिउँको तन्ना, नेताका साथी, पाहुना घर लगायतका दर्जनभन्दा बढी साहित्यिक कृति प्रकाशित छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार