३ जेष्ठ २०८१, बिहीबार

कञ्चनपुरमा पावर नभएका पत्रकार थुनामै, नेता र पूर्वप्रहरीसहित ४ जना रिहा



धनगढी / कञ्चनपुर प्रहरीले विद्युतीय अपराध सम्बन्धी मुद्दा चलाएर समातेका ६ जनामध्ये ४ जना छुटेका छन्। हिजो ९मङ्गलबार० र आज ९बुधबार० समेत पक्राउ परेका ४ जना रिहा भएका हुन्।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक हर्षबहादुर चन्दका अनुसार आज समातिएका माओवादी केन्द्रका प्रदेश कमिटी सदस्यसमेत रहेका भीमदत्त नगरपालिका–१८ का चन्द्रकान्त भट्ट (सिके), अर्का स्थानीय पुस्कर भट्ट, पूर्व प्रहरी हवल्दार भीमदत्त नगरपालिक–१८ का कर्णबहादुर चन्द र भीमदत्त नगरपालिका–१६ का दशरथ धानुक छुटेका हुन्।

अनुसन्धानका बखत हिरासतमा राखि राख्न उपयुक्त नदेखिएकाले जिम्मा जमानीमा छोडिएको चन्दले बताए। तर स्रोतका अनुसार गृहमन्त्रालय सहितको दबाबले माओवादी नेतालाई २४ घण्टासमेत हिरासतमा नराखी छोडिएको हो।

तर सोही मुद्दामा केही दिन अगाडि समातिएका पत्रकारद्वय पुष्कर भट्ट र ऐश्वर्य कुँवरलाई भने थुनामै राखेको छ। प्रहरीले शनिवार पत्रकारद्वयलाई हिरासतमा लिएको थियो। यस्तै उनीहरुविरुद्ध प्रहरीले दोस्रो दिन ७ दिनका लागि म्याद थप गरेर हिरासतमै राखेको छ।

स्रोतका अनुसार उनीहरूको स्वास्थ्य अवस्था चिन्ताजनक रहेपनी प्रहरीले जिम्मा जमानीमा छोड्न मानेको छैन। यस अगाडी नै पत्रकारका विभिन्न पेसागत संगठन र महासंघले कञ्चनपुर प्रहरीको उक्त कदमको विरोध गर्दै प्रतिशोध साधेको भनिसकेका छन्।

जबकी प्रहरीले सो पत्रकारद्वयसहित माओवादी नेता भट्टलाई मुख्य प्रतिवादी बनाएर मुद्दा चलाएको थियो। त्यसमध्ये प्रहरीले आज (बुधबार) नेता भट्टको सरकारी वकिलमार्फत बयान प्रमाणीत गराउन खोजेको थियो। तर, आजै कञ्चनपुरबाट सरुवा भएका एसपी कमल थापालाई सरकारी वकिल शान्तिराज शर्माले आफ्नो क्षेत्राधिकार नभएको र म्याद थप नभएका व्यक्तिको बयान प्रमाणीत नहुने भन्दै सम्झाएको बुझिएको छ। सरुवा भएर जाने तयारीमा रहेका एसपी थापाले समग्र प्रहरी प्रशासन र न्यायपालिकालाई समेत गिजोल्न लागेको सरोकारवालाको आरोप छ।

केही दिन अगाडी कञ्चनपुर प्रहरीले एक महिला प्रहरी निरीक्षकविरुद्ध फेसबुकमा स्टाटस र कमेन्ट लेखेको भन्दै साइबर अपराधमा मुद्दा चलाएर अनुसन्धान थालेको थियो। सो मुद्दामा आजसम्म ६ जना पक्राउ परेकोमा २ जनाबाहेक अन्य सबै छुटेका छन्। तर उनीहरूमाथि पनि अनुसन्धान भने जारी रहने बताइएको छ।

विगतदेखी नै विवादित भएको आरोप लाग्ने एसपी थापाको सरुवापछि त्यहाँ एसपी चक्रराज जोशी आउने भएका छन्। जोशी नआउँदासम्म थापाले नै कमाण्ड सम्हालिरहेका छन्।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार