२२ बैशाख २०८१, शनिबार

प्रदेशका भौतिकमन्त्री देउवाको पहलमा धनगढीमा १९ सडक बन्दै



मन्त्री देउवा सडक निर्माण बारे बस्तीबस्तीमा पुगेर छलफल गर्दे । फाइल फोटो

धनगढी/ प्रदेश सरकारका भौतिक पूर्वाधार विकासमन्त्री प्रकाश देउवाले अग्रसरतामा धनगढी उपमहानगरपालिकामा १९ वटा सडक बन्ने भएका छन् । सुदूरपश्चिम प्रदेश सरकारको लगानीमा ती सडकहरु बन्ने भएका हुन ।
१९ वटै सडक निर्माणका लागि छ प्याकेजमा ठेक्का आह्वान गरिएको छ । बहुवर्षीय योजनाका रुपमा यी सडकहरुको पहिलो चरणको काम पूरा हुने दावी मन्त्री देउवाको सचिवालयको छ ।

यहाँ सडक निर्माणका लागि प्रदेश सरकारले ६१ करोड रुपियाँ बजेट सुनिश्चित गरेपछि ठेक्का आह्वान गरिएको हो ।
पूर्वाधार विकास कार्यालयका कैलालीका प्रमुख रामचन्द्र खत्रीका अनुसार ठेक्का लागेका सडकहरुको बढीमा तीन महिनाभित्र सबै प्रक्रिया पूरा गरेर काम थालिने छ । मूल्याङ्कनको प्रक्रिया बढीमा तीन महिनाभित्रै पूरा हुनेछ उनले भने ।

पहिलो प्याकेज अन्तर्गत धनगढी उपमहानगरपालिका–४ रातोपुल, टेम्पल रिसोर्ट, शिवपुरी, तुल्सीचौक हुँदै भगवती टोलसम्मको सडक, धनगढी उपमहानगरपालिका–३ वाणिज्य बैंक, विशालनगर, जनता आधारभूत विद्यालय, विरेन्द्र चौकहुँदै रिङ्गरोड जोड्ने सडक बन्ने छ । यसैगरी, धनगढी–२ मेनरोड रुबस होटल हुँदै बैयाबेहडी सडक, धनगढी–३ नेशनलमार्ग सडक र धनगढी–४ पुरानो भन्सार रोडक सडक यसै प्याकेज अन्तर्गत बन्ने छ ।

दोस्रो प्याकेज अन्तर्गत धनगढी–८ देखि १२ सम्मको धनगढी गाउँ जुगेडा सडक कालोपत्रे हुनेछ । त्यस्तै, धनगढी–८ पुष्पलाल चौकदेखि धनगढी गाउँसम्मको सडक, धनगढी–७ कैलाली बहुमुखी क्याम्पसदेखि जाखोरतालसम्मको सडक र धनगढी–१ त्रिवेणी सडक दोस्रो प्याकेज अन्तर्गत बन्ने छ ।

तेस्रो प्याकेज अन्तर्गत धनगढी–५ नैनादेवी पुरानो हसनपुर सडक, धनगढी–५ र ३ जोड्ने सामुदायिक प्रहरी पिपल चौतारादेखि बोराडाँडी हुँदै फाप्ला रिङ्गरोडसम्मको सडक, धनगढी–१३ मैदामिलदेखि हिमाली टोल, कैलाली गाउँ प्रहरी पोष्टहुँदै ढुङ्गेबजारसम्मको सडक बन्ने जनाइएको छ । धनगढी–१३ राजपुर चौकदेखि पूर्व वडा कार्यालय जाने सडक पनि यसै प्याकेज अन्तर्गत बन्ने जनाइएको छ ।

धनगढी–११ बहिरा स्कुलदेखि दक्षिणकाली टोल जाने सडक, धनगढी–४ गठबन्धन चौकदेखि शिवपुरधामसम्मको कालोपत्रे सडक चौथो प्याकेज अन्तर्गत बन्ने पूर्वाधार विकास कार्यालयले जनाएको छ ।

पाँचौ प्याकेज अन्तर्गत धनगढी–६ मल्लो मटियारी ढुङ्गे बजार पश्चिम चौकदेखि उत्तर कृष्ण र एकता टोल हुँदै लक्ष्मीनगर जाने बाटोमा कल्भर्ट र नालीसहित सडक बन्ने जनाइएको छ । यसैगरी, धनगढी–४ शहीदगेट, शिवपुरी, न्युरोड सडक खण्डदेखि कैलाली चौकसम्मको सडक कालोपत्रे हुने छ ।

छैटौं प्याकेज अन्तर्गत धनगढी–२ बडीमालिका टोल सडक र धनगढी–२ नन्दलाल पन्तको घरदेखि पूर्वमा भरत जोशीको घरसम्म पक्की नालासहितको काम हुने जनाइएको छ । नगर क्षेत्रको कैयौं वर्षदेखि जीर्ण अवस्थामा रहेका सडकहरुलाई प्रदेश सरकारले बनाउन लागेको हो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार