२० बैशाख २०८१, बिहीबार

लोगो संशोधन समितिको प्रतिवेदन सभामा टेबुल



धनगढी/ सुदूरपश्चिम प्रदेशको लोगो संशोधन समितिले तयार पारेको प्रदेश लोगो संशोधन सम्बन्धी प्रतिवेदन समितिका संयोजक पदमबहादुर शाहीले प्रतिवेदन टेबुल गरेका छन् ।

समितिले तयार पारेको प्रतिवेदनमाथि शुक्रबार छलफल हुने सभामुख भीमबहादुर भण्डारीले जानकारी दिए ।

बुधबार बसेको प्रदेश सभा बैठकमा टेबुल गरिएको प्रदेश लोगोमा नेपालको नक्सा नरहेको र झण्डामा चन्द्र, सूर्य स्पष्ट नदेखिएकाले लोगो संशोधन गर्न लागिएको हो । गत जेठ २८ गते बसेको प्रदेश सभा बैठकले लोगो संशोधनका लागि सात सदस्यीय लोगो संशोधन समिति गठन गरेको थियो ।

सो समितिले प्रदेश सभा सदस्यहरुबाट राय, सुझाव लिएको थियो । यसैगरी, नमूना लोगो पेश गर्नका लागि सार्वजनिक रुपमा सूचना आह्वान गरिएको थियो । चार वटा नमूना प्राप्त भएकोमा नयाँ बानेश्वरका विश्वास पराजुलीले बनाएको लोगो समितिलाई अरुकोभन्दा उत्कृष्ट लागेको संयोजक शाहीले जानकारी दिए ।

यसैबिच, प्रदेश विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन २०७५ लाई संशोधन गर्न बनेको विधेयकलाई दफावार छलफलका लागि सर्वसम्मतले विधायन तथा प्रदेश मामिला समितिमा पठाइएको छ ।

भूमि, व्यवस्था, कृषि तथा सहकारीमन्त्री रामेश्वर चौधरीले विधेयकलाई दफावार छलफलका लागि विधायन तथा प्रदेश मामिला समितिमा पठाइयोस भन्ने प्रस्ताव सदनमा पेश गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार