२२ बैशाख २०८१, शनिबार

भट्टलाई हटाएर धामी बने माओवादी संसदीय दलको नेता




धनगढी/ नेकपा (माओवादी केन्द) सुदूरपश्चिम प्रदेश सभाको संसदीय दलको नेता परिवर्तन गरिएको छ । माओवादी नेताहरुले यसअघि दलको नेता परिवर्तनका लागि काठमाडौ पुगेर अध्यक्ष र उपाध्यक्ष लगायतका नेताहरुलाई भेटेका थिए ।

शुक्रबार विहान उपनेता अक्कलबहादुर रावलको अध्यक्षतामा बसेको बैठकले दलका नेता खगराज भट्टलाई परिवर्तन गरेर मानबहादुर धामी सन्तोषलाई चयन गरेको हो ।

दलको बैठकको बहुमतले भट्टलाई हटाएर धामीलाई दलको नेता चयन गरेको हो ।

भट्ट अनुपस्थित बैठकमा प्रदेश सभाका १० मध्ये छ जनाको सहभागिता रहेको थियो । उपनेता रावलका अनुसार बैठकमा मानबहादुर धामी, अक्कलबहादुर रावल, ओमविक्रम भाट सरल, लक्ष्मी विक, शिवसिंह ओली र गीतादेवी मालको उपस्थिति रहेको थियो । गीतादेवी माल प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्री पनि हुन ।

बैठकमा दलका तत्कालिन नेता भट्ट, सामाजिक विकासमन्त्री झपटसिंह रावल र उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री रमेशसिंह धामी र जानकी पौडेल कुँवर सहभागी थिएनन् । नेता परिवर्तनका सवालमा दलका तत्कालिन नेता भट्टसित प्रतिक्रिया लिन खोज्दा मोवाइल फोन उठेन ।

उपनेता रावलले केन्द्रका नेताहरुकै सल्लाहका दलको नेता परिवर्तन गरेको बताए । राष्ट्रिय सभाको चुनावको कारण हामीले नेता चयनमा ढिलाइ गरेका थियौ उनले भने, अब मन्त्री परिवर्तन पनि गर्ने सल्लाह भइरहेको छ ।

प्रदेश सरकारमा माओवादीका सामाजिक विकास र उद्योग, पर्यटन, वन तथा वातावरण गरेर दुई मन्त्री र एक राज्यमन्त्री रहेका छन् ।

माओवादीले दलको नेता परिवर्तन भएको जानकारी प्रदेश सभा सचिवालयलाई पनि लिखितरुपमा दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार