२० बैशाख २०८१, बिहीबार

सेतीमा एक करोड २५ लाखमा अक्सिजन प्लान्ट निर्माण




धनगढी/ गैर आवासीय नेपाली संघ (एनआरएनए) ले सेती प्रादेशिक अस्पताललाई अक्सिजन प्लान्ट हस्तान्तरण गरेको छ । सो प्लान्टको बिहीबार सामाजिक विकासमन्त्री झपटबहादुर साउँदले उद्घाटन गरे ।

अक्सिजन स्थापनाका लागि एनआएरएनएबाट ठूलो सहयोग भएको भन्दै मन्त्री साउँदले धन्यवाद ज्ञापन गरे । उनले सुदूरपश्चिमको स्वास्थ्यलाई सेती प्रादेशिक अस्पतालले थेगेको बताए ।

मन्त्री साउँदले प्रदेशको बेरोजगारी र गरिबी अन्त्यका लागि सुदूरपश्चिममा केही परियोजना सञ्चालन गर्न एनआरएनएलाई आग्रह गरे । उनले सुदूरपश्चिममा जनशक्तिको अभाव नरहेको उल्लेख गर्नुहुँदै बेरोजगारी समस्याका कारण प्रदेशको श्रम भारत पलायन भइरहेको उल्लेख गरे ।

एनआरएनएका अध्यक्ष केसीले अक्सिजन अभाव हुने समस्याको दीर्घकालीन समाधान अक्सिजन प्लान्ट रहेकाले त्यसका लागि आफ्नो संस्थाले सहयोग गरेको बताए । कोरोना महामारीको बेला नेपाल सरकारलाई दुई हजार ५०० अक्सिजन कन्सनट्रेटरसमेत सहयोग गरेको उल्लेख गर्दे उनले त्यसबाट धेरैको ज्यान जोगिएको धारणा राखे ।

हामी विश्वको विभिन्न देशमा छरिएर रहे पनि हाम्रा आमाबुबा, बालबच्चा नेपालमै छन् । त्यसैले नेपालको लागि केही गर्नु पर्छ भनेर नेपालीले नेपालीका लागि गरौं भन्ने भावनाका साथ सहयोग गरेका हौं । अध्यक्ष केसीले सेती प्रादेशिक अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीको दक्षता अभिवृद्धिका लागि पनि सहकार्य गर्न तयार रहेको उल्लेख बताए ।

सो कार्यक्रममा बोल्दै उपाध्यक्ष रामशरण सिम्खडाले आफूहरुको सहयोग नेपाल आमाका लागि भएको बताउदै हाम्रो सहयोग सदुपयोग भए आगामी दिनमा पनि सहयोग जारी राख्ने बताए ।

सेतीमा स्थापना भएको प्लान्टले एक घण्टामा आठ सिलिण्डर ग्यास भर्ने गरेको जनाइएको छ । कोरोना महामारीको बेला स्वास्थ्यकर्मीलेसमेत अक्सिजन पाउन नसकेको जनाउँदै सेती प्रादेशिक अस्पतालका अध्यक्ष नरबहादुर शाह निर्मले अब अक्सिजन अभावमा कसैले पनि ज्यान गुमाउन नपर्ने बताए । उनले सेती प्रादेशिक अस्पतालले एनआरएनएबाट थप सहयोगको अपेक्षा गरेको बताए ।

कोरोना महामारीको दोस्रो तरङ्गका बेला अक्सिजन अभावमा कैयौं बिरामीको ज्यान गएपछि एनआरएनएले सेती प्रादेशिक अस्पतालमा अक्सिजन प्लान्ट निर्माणको घोषणा गरेको थियो । विभिन्न देशमा रहेका गैरआवासीय नेपालीहरुले चन्दा सङ्कलन गरेर सहयोग गरेपछि एक करोड २५ लाख रुपियाँ लगानीमा अक्सिजन प्लान्ट स्थापना गरिएको हो ।

एनआएरएनका अध्यक्ष डा. बद्री केसीले अस्पताललाई अक्सिजन प्लान्ट हस्तान्तरण गरेका हुन । सो कार्यक्रममा उपाध्यक्ष रामशरण सिम्खडा, दिनेश पोख्रेल, हेमन्त काफ्ले अष्ट्रेलिया, सल्लाहकारहरु टेकबहादुर कार्की, भैरव ढकाल, भवानी ओली, पूर्वउपाध्यक्ष अर्जुनकुमार श्रेष्ठ, माल्टाका सत्यनारायण श्रेष्ठ, एनआरएनए प्रमुख कार्यकारी अधिृकत राजेन्द्रकुमार रावत लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार