२२ बैशाख २०८१, शनिबार

प्रदेश राजधानी दीपायल सारौ : प्रदेश सांसद ओली




धनगढी/ सुदूरपश्चिम प्रदेश सभाका सदस्य शिवसिंह ओलीले स्थायी राजधानीबारे नयाँ शिराबाट पुनर्विचार हुनुपर्ने बताएका छन् ।
मंगलबारको प्रदेश सभा बैठकमा बोल्दै उनले राजधानी तोकिएको साढे पाँच वर्षसम्म पनि कार्यान्वयन हुन नसकेपछि राजधानीबारे पुनर्विचार गर्नु पर्ने संकेत गरे ।

प्रदेश सभा बैठकको शून्य समयमा बोल्दै ओलीले अघिल्लो प्रदेश सभाले तोकेको राजधानी कार्यान्वयनमा प्रदेश सरकार गम्भीर नबनेको बताउदै यदि, कैलालीको गोदावरीमा राजधानी कार्यान्वयन गर्न नसकिने हो भने प्रदेशको सबै जिल्लालाई पायक पर्ने डोटीको दीपायलमा राजधानी बनाउनका लागि अगाडि बढ्न जरुरी छ ।

डोटीबाट निर्वाचित प्रदेश सभा सदस्य ओलीले भने प्रदेशको सन्तुलित विकासका लागि दीपायल राजधानीको लागि उपयुक्त छ । दीपायल राजधानी बनाउनका लागि अगाडि बढ्न म माग गर्दछु ।

उनले राजधानीका लागि पुरानो क्षेत्रीय राजधानी र ऐतिहासिक गौडा रहेको दीपायलमा पर्याप्त भौतिक संरचना भएको दावी पनि गरे ।
माओवादी नेता समेत रहेका प्रदेश सभा सदस्य ओलीले भने, मुख्यमन्त्रीले समेत डडेल्धुराको एक पत्रकार सम्मेलनमा राजधानी सार्ने सकिने बताउनु भएको थियो, यस्ता भनाईले गर्दा पनि प्रदेश सरकारले गोदावरी राजधानी कार्यान्वयन नगर्ने स्थिति पनि देखिन्छ ।

प्रदेश सरकारको नियत विगत र अहिलेसम्म हेर्दा राजधानी कार्यान्वयन गर्ने नियत नभएको पनि उनले बताए । संघीय सरकारबाट जग्गा प्राप्ती गर्न सकेका पनि छैनौ । मन्त्रालय मर्मतमा करोडौ खर्च गरेका छौ उनले भने ।

२०७५ असोज १२ गते दुई तिहाई बहुमतले सुदूरपश्चिम प्रदेशको स्थायी राजधानी गोदावरी बनाउने कुराको टुङ्गो लगाइएको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार