२२ बैशाख २०८१, शनिबार

सुदूरपश्चिममा संसद दिवसलाई माननीयहरुकै बेवास्ता, पूर्वमुख्यमन्त्री रावल रिसाए



धनगढी/ सुदूरपश्चिम प्रदेश सभाले आइतबार प्रदेश सभा दिवस मनाएको छ । सो अवसरमा सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख देवराज जोशीले जनप्रतिनिधिहरु जनताप्रति उत्तरदायी र जवाफदेही हुनु पर्ने बताए ।

श्रीकृष्णले गीतामा भनेको कुरा स्मरण गर्दे प्रदेश प्रमुख जोशीले भने नेतृत्वमा रहेका जनप्रतिनिधिले संविधान अनुसार सही बाटो देखाए व्यवस्था बलियो हुन्छ ।

सभामुख भीमबहादुर भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेशका निर्वतमान मुख्यमन्त्री तथा प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का संसदीय दलका नेता राजेन्द्रसिंह रावलले प्रदेश सरकारका कारण सङ्घीयता र गणतन्त्र कमजोर भइरहेको बताए ।

उनले प्रदेश सभालाई सरकारले कामविहीन बनाएको बताउदै प्रदेश सभाका कर्मचारीले अझै मर्यादाक्रम बारे जानकारी नराखेर काम गरिरहेको बताए । छोटो बोल्नु पर्यो भन्दै दिइएको चिटमा पनि नेता रावलले आक्रोश पोख्दै, म नबोलौ छोडेर जाउ, आजको दिनमा पनि बोल्न नदिने भनेका थिए ।

उनले सरकारले कमिशन लिएर काम गरिरहेको बताउदै मन्त्रालयमा बुख्याच्चाहरु प्रवेश गरेको आरापे समेत लगाए ।
कार्यक्रममा उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री रमेश धामीले सङ्घीयता आएपछि जनताको जीवनस्तर उठेको बताउदै विकास निर्माणले समेत गति लिएको बताए ।

पूर्वमुख्यमन्त्री त्रिलोचन भट्ट, प्रदेश सभा सदस्य तथा पूर्वमन्त्री दीर्घबहादुर सोडारी, पूर्व सभामुख अर्जुनबहादुर थापा, नेपाली कांग्रेसका प्रमुख सचेतक विक्रम धामी, नेकपा (माओवादीकेन्द्र ) का प्रमुख सचेतक अक्कलबहादुर रावल, नागरिक उन्मुक्ती पार्टीका टीकादेवी थापा लगायतले प्रतिगामीहरुले सङ्घीयताको विरोध गरेको, आफूहरुले यो विचमा भएका काम बारे जनतालाई बुझाउन नसकेको बताए । उनीहरुले सङ्घीयता आएपछि भएका कामको लामो सूची सुनाएका थिए ।

प्रदेश सभा दिवसमा सुदूरपश्चिम प्रदेश सरकार र प्रदेश सभाका वर्तमान, पूर्व पदाधीकारीहरुलार्ई आमन्त्रण गरिएको थियो । तर बहालवाला प्रदेश सभा सदस्यहरु समेत कार्यक्रमका पूरा समय बसेनन् । भने मुख्यमन्त्री कमलबहादुर शाह, मन्त्रीहरु प्रकाशबहादुर देउवा, नरेशबहादुर शाही, झपटबहादुर साउद भने धनगढी बाहिर रहेकोले कार्यक्रममा उपस्थित नभएको बताइएको छ ।

बहालवाला र पूर्वले प्रदेश सभा दिवसलाई महत्व नदिएकोमा उपस्थित केही सर्वसाधारणको आक्रोस पोखेका थिए । कार्यक्रममा मञ्चमा रहेका, केही वर्तमान र पूर्व सांसद तथा निजामति र सुरक्षा निकायका अधिकारीहरु मात्र अन्तिमसम्म बसेका थिए ।

कार्यक्रममा लोकतान्त्रिक गणतन्त्र विषयक वक्तित्वकला प्रतियोगिताका विजेताहरुलाई पुरस्कार तथा प्रमाणपत्र समेत दिइएको थियो । कार्यक्रममा प्रदेश सभा सचिव देवबहादुर वोगटीले प्रदेश सभाले गरेका कामको प्रगति विवरण सुनाएका थिए ।
प्रदेश सभा दिवसमा उपस्थित प्रदेश प्रमुख देवराज जोशी लगायत ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार