२४ बैशाख २०८१, सोमबार

प्रदेश सभा बैठकमा स्वतन्त्र सांसद जोशीले भने, “लगानी सम्मेलन रोमान्सका लागि गरेजस्तै भयो”



धनगढी / सुदूरपश्चिम प्रदेश सभाको तेस्रो अधिवेशन शुरु भएको छ । यसक्रममा शुक्रबार दलका नेता र सचेतकले अधिवेशन सफलताका लागि शुभकामना दिए । सो अवसरमा स्वतन्त्र सांसद डा. तारा जोशी भने फरकढंगले प्रस्तुत भए ।

सुदूरपश्चिम सरकारले आयोजना गर्न थालेको लगानी सम्मेलनमाथि टिप्पणी गर्दे उनले भने प्रदेश सरकारले आयोजना गर्न लागेको लगानी तथा विकास सम्मेलन रोमान्सका लागि आयोजना गर्न थाले जस्तो भएको छ।

आउँदो वैशाखमा केन्द्र सरकारले लगानी सम्मेलन गरिरहेको अवस्थामा फागुनमा प्रदेश सरकारले रोमान्स सम्मेलन गरिरहेको बताउदै उनले भने केन्द्र सरकारले पनि वैशाखमा गर्दैछ । यहाँ पनि लगानी सम्मेलन हुँदैछ । यी दुईवटा सम्मेलनले के परिमाण ल्याउँछ सांसद जोशीले भने, यहाँ गर्न लागेको कुरा केन्द्र सरकारसँग समन्वय गरेर गर्नु पर्ने थियो, केन्द्र सरकारसँग समन्वय नै भएन । तपाईहरुले रोमान्सका लागि लगानी सम्मेलन गर्न जस्तो भयो । अहिले विरोध गर्दा अवरोध गरेजस्तो होला । तर यसको आधार के–के हो दुई वर्ष अगाडि पनि गर्ने, अहिले पनि गर्ने ।

अधिवेशनको पहिलो बैठकमा सभामुख भीमबहादुर भण्डारीले अधिवेशन आह्वान सम्बन्धी प्रदेश प्रमुखले पठाउनु भएको पत्र पढेर सदनलाई सुनाएका थिए ।

यसैबिच, सदनमा प्रतिनिधित्व गर्ने दलका नेता तथा सचेतकहरुले विशेष समय लिएर अधिवेशन सफलताको शुभकामना व्यक्त गर्दै प्रदेश सरकारले पर्याप्त बिजनेस दिएर सदनलाई चलायमान बनाउन आवश्यक रहेको सुझाव दिएका छन् । विगतको दुई अधिवेशनमा भएको कमिकमजोरीबाट पाठ सिक्दै यो अधिवेसनलाई बढी फलदायी बनाउनु पर्ने उनीहरुको भनाइ थियो ।

नेपाली काङ्ग्रेसका प्रमुख सचेतक विक्रमसिंह धामीले अहिलेको संसदीय व्यवस्थाप्रति जनताको आक्रोस देखिएकाले प्रदेशको उन्नति र विकासका लागि संसदले सोंच्नु पर्ने बताए । उनले हिउँदे र बर्खे अधिवेसन चलाएरमात्रै नपुग्ने उल्लेख गरे । उनले भने , अब संसदको विशेष अधिवेशन बोलाएर त्यसमा नागरिकका यस्तै असन्तुष्टिका कुरामाथि छलफल गर्नु पर्दछ ।

नेकपा (माओवादी केन्द्र) को संसदीय दलका नेता खगराज भट्टले यो अधिवेशनले सिङ्गो सदनलाई विश्वासमा लिएर आवश्यक विधेयक निर्माणमा गति लिनु पर्नेमा जोड दिए । सुदूरपश्चिम प्रदेशको स्थायी राजधानी गोदावरीमा न कार्यान्वयन हुन सकेको न त त्यसको अहिलेसम्म विकल्प खोज्न सकिएको उल्लेख गर्नुहुँदै उहाँले यो अधिवेशनले राजधानीको टुङ्गो लगाउन सक्नु पर्ने औंल्याए ।

प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) को संसदीय दलका नेता राजेन्द्रसिंह रावलले संसदको गतिविधिलाई प्राथमिकताका साथ अगाडि बढाउन आवश्यक रहेको बताए । प्रदेश सरकारले सदनलाई बिजनेस दिन नसकिरहेको भन्दै उनले पर्याप्त बिजनेस दिनका लागि सरकारको ध्यानाकर्षण गराए ।

यस्तै, नागरिक उन्मुक्ति पार्टीका लक्ष्मणकिशोर चौधरीले प्रदेश सरकारले बौद्धिक अपाङ्गता भएकाहरुको स्याहारका लागि विशेष स्याहार केन्द्र सञ्चालन गर्न जरुरी रहेको बताए ।

नेकपा (एकीकृत समाजवादी) पार्टीको संसदीय दलका नेता दीर्घबहादुर सोडारीले प्रदेश सरकारलाई बजेट खर्च प्रगति बढाउन र सदनलाई पर्याप्त बिजनेस दिन आग्रह गरे ।

राप्रपाको संसदीय दलका नेता खेमादेवी विष्टले सदनमा उठेको कुरामाथि सरकारबाट जवाफ नआएको भन्दै ध्यानाकर्षण गराइन ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार