२४ बैशाख २०८१, सोमबार

नागरिक उन्मुक्ति पार्टीको पहिलो महाअधिवेशन शुरु, पहिचान, सदभाव र विकासमा जोड



टीकापुर/ नागरिक उन्मुक्ति पार्टीको पहिलो महाअधिबेशन टीकापुरमा शुरू भएको छ । अधिवेशनलाई सम्वोधन गर्दै पूर्वप्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले १३६ जातजाति भएको नेपालमा सबैका अधिकारलाई संबिधानले स्वीकार गरेको अवस्थामा समुदायबीच सद्भाव हुनुपर्ने बताए ।

‘समाज सबैका लागि बस्नलायक बनाउनुपर्छ समुदायबीच दूरी होइन प्रेम मेलमिलाप सद्भाव चाहिन्छ,’ नेपालले भने बुद्धको जन्मेको शान्तिपूर्ण देशको पहिचान जोगाउनुछ ।’ उनले २०७२ सालमा टीकापुरमा भएको जस्तो घटना अब कहिल्यै हुन नहुने, बालक हत्या, लक्ष्मण न्यौपाने जस्ता अत्यन्तै भलनद्मी प्रहरी अधिकारीले ज्यान गुमाउन नहुने बताए । उनले सरकारले काम नगरे पार्टीले दवाव दिने र बिकल्पमा दल रोज्न सकिने भए पनि व्यवस्था विरोधी आवाज स्वीकार्य नहुने पनि बताए ।

उर्जा जलस्रोत तथा सिचाई मन्त्री एवम नेकपा माओवादी केन्द्रका नेता शक्तिबहादुर बस्नेतले मुलुक समृद्धिको बाटोमा अघि बढेको बेला गणतन्त्र संस्थागत गर्न, सुशासन र सामाजिक रूपान्तरण का लागि महाधिवेशनले सहयोग पुग्ने अपेक्षा गरे ।

सरकारले गरेका उपलब्धि अपर्याप्त भए पनि सरकार समृद्धिको सही बाटोमा हिडेको छ, मन्त्री बस्नेतले भने २०७२ सालसम्म ८०० मेगावाट विद्युत मात्रै उत्पादन भएको नेपालमा सङ्घीय गणतन्त्र आएपछिको आठ वर्षमा २९०० मेगावाट पुगेको छ, २६ लाख परिवार निशुल्क बिजुली बाल्दैछन् गणतन्त्र उपलब्धिको रक्षा गरौ ।’ मन्त्री बस्नेतले नागरिक उन्मुक्ति पार्टीले छोटो समयमा गरेको राजनीति उपलब्धिका लागि धन्यवाद ज्ञापन गर्दै पार्टी र प्रधानमन्त्रीका तर्फबाट महाधिवेशनको सफलताको शुभकामना दिए ।

नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष तथा भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री रञ्जिता श्रेष्ठले कारागारमा जन्मिएको पार्टीले राजबन्दी रेशमलाल चौधरीको संरक्षकत्वमा छोटो समयमा राम्रो उपलब्धि हासिल गरेको र बन्द सत्रले सर्बसम्मत चुनेको व्यक्ति अध्यक्ष हुने घोषणा गरिन ।

कार्यक्रममा जनमत पार्टीका अध्यक्ष डाक्टर चन्द्रकान्त रावतले पुराना दलले राम्रो काम गए नागरिक उन्मुक्ति लगायतका नयाँ दलको स्थापना नहुने बताए । उनले नेपालमा पहिचान नभएको र मधेशको पहिचानको रुपमा रहेको धोती लगाउदा देशकै सांसद, मन्त्री पक्राउ पर्नु यसको उदाहरण हो भन्दै पहिचानको आन्दोलन आवश्यक रहेको बताए ।

महाधिवेशनमा लोकतान्त्रिक समाजवादी पार्टीका नेता जितेन्द्र सोनल, भारतीय जनता पार्टीका प्रतिनिधि उमाशंकर मिश्र, नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष किशोर नेपाल, आदिवासी समन्वय मञ्च झारखण्डकी अध्यक्ष ममता कुजुर उरावले शुभकामना दिए ।

पार्टीले महाधिवेशनको नारा भौगोलिक साँस्कृतिक पहिचानसहितको संघीयता र समुदायमा आधारित समाजवाद प्रतिस्थापनका लागि महाधिवेशन भन्ने तय गरेको छ । महाधिवेशनमा देशका विभिन्न जिल्लाबाट आठ हजार जना टीकापुरमा भेला भएका सो पार्टीले जानकारी दिएको छ ।

२०७२ साल भदौमा टीकापुरमा भएको घटनाका दोषीकारुपमा रेशमलाल चौधरी जेलमा रहेका बेला आफू संरक्षक रही श्रीमती रञ्जिता श्रेष्ठको नाममा २०७८ फागुनमा स्थापना गरेको पार्टीको यो पहिलो महाधिवेशन हो । अधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ । पुस २६ गते शुरु भएको अधिवेशन तीन दिनसम्म चल्नेछ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार