२४ बैशाख २०८१, सोमबार

सहकारी क्षेत्रलाई सुधारेर लैजानुपर्छ मुख्यमन्त्री शाह



धनगढी/ सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले विश्वव्यापीरुपमा लोकप्रिय बनेको सहकारी क्षेत्रलाई नेपालमा पनि सुधार गरेर लैजानु पर्ने बताएका छन् ।

नेपाल सरकारको समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालय आयोजनामा धनगढीमा भइरहेको दुई दिने प्रदेश स्तरीय सहकारी संस्था : समस्या, समाधान र सुशासन प्रवद्र्धन प्रदेश स्तरिय कार्यशालामा मंगलबार बोल्दै मुख्यमन्त्री शाहले सो कुरा बताएका हुन ।

उनले ऐन, कानुनलाई समयानुकुल बनाएर भए पनि सहकारीलाई सुधार गरेर लैजानु पर्ने बताए । मुख्यमन्त्री शाहले भने, अहिले सहकारीप्रतिको धारणा ठिक नभएकोले सहकारीलाई सुधार गर्न ढिला गर्नु हुँदैन ।

समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयका अध्यक्ष काशिराज दाहालको अध्यक्षतामा उद्घाटन कार्यक्रम भएको थियो ।

दुई दिनसम्म हुने कार्यक्रममा प्रदेश सरकारका सहकारी रजिष्टार टीकाराम थापाले सुदूरपश्चिमका सहकारीको समस्या तथा समाधान र प्रदेश बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष माधवप्रसाद जोशीले सहकारी संस्थामा सुशासनको स्थिति र सहकारी अभियानले खेलेको भूमिका बारे कार्यपत्र प्रस्तुत गरे ।

सो कार्यक्रममा कैलाली र कञ्चनपुरका स्थानीय तहका प्रमुख/उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत, सहकारी शाखा प्रमुख र सहकारी क्षेत्रका अभियन्ताहरुको सहभागिता रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार