२४ बैशाख २०८१, सोमबार

प्रमुख प्रतिपक्ष एमालेलाई लेखा समिति दिदै चार सत्तारुढ दलले लिए तीन सभापति



धनगढी/ सुदूरपश्चिमको प्रदेश सभाका चार समितिका सभापति पदमा मंगलबार चार जनाको मात्रै एकल उम्मेदवारी दर्ता भएको छ । एकल उम्मेदवारी परेकोले सभापति पदको चुनाव नहुने भएको छ ।

सोमबार राति मुख्यमन्त्री कार्यालयमा भएको गठवन्धनका दलको छलफलको सहमति अनुसार नै नेपाली कांग्रेसले विधायन तथा प्रदेश मामिला समिति, नागरिक उन्मुक्ती पार्टीले अर्थ विकास तथा प्राकृतिक स्रोत समिति र नेकपा (एकीकृत समाजवादी) ले सामाजिक विकास र प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले सार्वजनिक लेखा समितिको सभापति पदमा उम्मेदवारी दिएको छ ।

प्रदेश सभाका सूचना अधिकारी युवराज जैशीका अनुसार विधायन तथा प्रदेश मामिला समितिमा कांग्रेसले दिवानसिंह विष्ट, सार्वजनिक लेखा समितिमा एमालेले वीरबहादुर थापा, अर्थ विकास तथा प्राकृतिक स्रोत समितिमा नाउपाले घनश्याम चौधरी र सामाजिक विकासमा समाजवादीले माया पन्तलाई उम्मेदवार बनाएको छ ।

एमालेका थापाले अन्तिममा मात्रै सत्तापक्षका अक्कल रावलले समर्थन दिएपछि मात्र उम्मेदवारी दिन पाएका छन् । लेखामा थापा बाहेक एमालेका सन्तोष शर्मा थापा मात्रै सदस्य थिइन । उनी थापाको प्रस्तावक बनेका थिए ।

प्राविधिक समस्या आएन भने चारै जनालाई बुधबार दिउँसो सभापति पदमा निर्विरोध भएको घोषणा गरिने छ ।

गठवन्धनले प्रदेश सभा नियमावलीमा रहेको विषेशाधिकार समिति माओवादीलाई दिने सहमति गरेको छ । त्यो समिति गठन हुनका लागि प्रदेश सभाले समितिका सदस्यको नाम अनुमोदन गर्नु पर्ने हुन्छ । हाल प्रदेश सभा बैठक नभएकोले बैठक बसेपछि समितिका सदस्यको नाम तय गरेर समिति बनाउने सहमति गठवन्धनका दलबीच भएको छ

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार