१७ बैशाख २०८१, सोमबार

हिमशिखरको साधारण सभा : १६ औं वर्षमा प्रवेश



धनगढी/ सुदूरपश्चिम प्रदेशका सहकारी रजिष्टार टीकाराम थापाले जनताले आशा र भरोसा गर्ने भएकोले सहकारीले प्रभावकारीढंगले काम गर्नुपर्ने बताएका छन् ।

धनगढीस्थित हिमशिखर बहुद्देश्यीय सहकारी संस्थाको १६ औं वार्षिक साधारण सभाको शनिबार उद्घाटन गर्दे उनले सहकारीका सम्पूर्ण शेयरधनी र बचतकर्ताको रकम सही ठाउँमा परिचालित गरेर काम गर्नुपर्ने पनि बताए ।

रजिष्टार थापाले सहकारीको वार्षिक साधारणसभाले शेयर सदस्यहरुलाई सञ्चालक समितिले वर्षभरि गरेका कामका बारेमा जानकारी दिने र आगामी योजनाका बारेमा थपघट गर्नाका लागि बाटो तय गर्नुपर्ने भएकोले साधारणसभा महत्वपूर्ण भएको बताए ।

सञ्चालक समितिलाई मार्गदर्शन दिन, पारदर्शी गर्न र औचित्य प्रभावकारी सुझावको लागि पनि साधारण सभा महत्वपूर्ण रहेको रजिष्टार थापाले बताए ।

सो अवसरमा सहकारीका अध्यक्ष दुर्गाप्रसाद भण्डारीले वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए । उनले सहकारीको शेयर पूँजी तीन करोड ५० लाख ९० हजार एक सय, बचत निक्षेप ३९ करोड ६३ लाख ९३ हजार सात र ऋण लागानी तथा असुली ५५ करोड ७१ लाख ५१ हजार १३८ रुपियाँ रहेको बताए ।

सोही कार्यक्रममा संस्थाका प्रवन्धक महेन्द्र शाहीले संस्थाको कुल आम्दानी १० करोड ५० लाख ११ हजार ७३४ रुपियाँ पुगेकोे बताए । उनले अन्य सहकारीका कारण राम्रा सहकारी पनि खराब हुन भन्ने धारणा हुन जानु राम्रो सहकारीको चुनौती भएको पनि औल्याए ।

सहकारीका अध्यक्ष भण्डारीको अध्यक्षतामा भएको साधारणसभामा सहकारीका उपाध्यक्ष रोशन सिंहले स्वागत मन्तव्य व्यक्त गरेका थिए भने सचिव विमल जोशीले कार्यक्रम सञ्चालन गरेका थिए ।

साधारण सभाको उद्घाटन कार्यक्रममा लेखा समिति संयोजक पुष्पराज ओझाले आन्तरिक लेखा परीक्षण प्रतिवेदन प्रस्तुत गरेका थिए ।

यसैगरेर सहकारी क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याउनले गौरीगंगा नगरपालिकाका नगर उपप्रमुख भोजबहादुर बमलाई सम्मानित गरेको छ ।

कार्यक्रममा अनुमोदन दैनिकका प्रकाशक तथा कार्यकारी सम्पादक प्रकाशविक्रम शाहलाई पुरस्कारसहित सम्मान गरिएको छ । सो अवसरमा उत्कृष्ट बचत कर्ता, ऋणी तथा सहकारीका कर्मचारीलाई सो साधारणसभामा सम्मानित गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार