१७ बैशाख २०८१, सोमबार

बाजुराका चेतनको हत्याआरोपी साधारण तारेखमा छुटे



धनगढी/ २०७९ को आमनिर्वाचनका दिनमा बाजुराको त्रिवेणी नगरपालिका वडानम्बर ७ का चेतनदीप ऐडीको हत्या आरोप लागेका छ जनालाई सर्वोच्च अदालतले बिहिबार साधारण तारेखमा छोडेको छ ।

नेपाली कांग्रेसका कार्यकर्ताले ०७९ मंसिर ४ गते ऐडीलाई घरबाट बाहिर निकालेर क्रुर तरिकाले मारेका थिए । अभियुक्तहरू जुद्धबहादुर अयडी (वडाअध्यक्ष), चक्रबहादुर अयडी, विनोदबहादुर अयडी, भूपाल अयडी, रुपा चौधरी अयडी र रनसिंहबहादुर अयडीलाई मुद्दा पुर्पक्षको निमित्त थुनामा राख्नु नपर्ने बताएको छ ।

उनीहरुलाई जिल्ला र उच्च अदालतको आदेश थुनामा राखेर अनुसन्धानमा राख्न भनेको थियो । सर्वोच्चले धनराज थापा, जंग भन्ने शेरबहादुर अयडी, खेमराज अयडी र सागर अयडीलाई मात्र थुनामा राख्नु पर्ने ठहर गरेको छ ।

सो हत्याकाण्डमा संलग्नता रहेको भन्दै जिल्ला अदालत बाजुरामा २४ जनाविरुद्ध मुद्दा दायर भएको थियो । तीमध्ये पक्राउ परेका सबैलाई जिल्ला अदालत बाजुरा र उच्च अदालत दिपायलले पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेका थिए ।

सर्वोच्च अदालतका न्यायाधीशद्वय प्रकाशमानसिंह राउत र अब्दुल अजिज मुसलमानको इजलासले बिहीबार यो आदेश गरेको हो ।

मातहतका अदालतले घटनामा संलग्न देखिएका भन्दै पुर्पक्षका लागि थुनामा पठाएका अभियुक्तहरूलाई सर्वोच्चले साधारण तारेखमा छाडिदिएपछि पीडित पक्षले असन्तुष्टी प्रकट गरेका छन् ।

उनीहरुले पीडितका बुवा गगन अयडीले ‘मेरो छोरो दोस्रोपटक मारियो भन्ने प्रतिक्रिया दिएका छन् । भिडिओमा प्रत्यक्ष देखिएका व्यक्तिलाई पनि साधारण तारेखमा छाडेर सर्वोच्चले अन्याय गरेको उनले बताए ।

मृतक ऐडी अनेरास्ववियुका केन्द्रीय सदस्य पनि थिए । त्यतिबेला ऐडी हत्याको भिडिओ सामाजिक सञ्जालमा भाइरल भएको थियो ।

एक आफन्तले भने आफूलाई प्राप्त भएको पद र अधिकारको दुरुपयोग गर्नु भ्रष्टाचार हो । नेपालमा यस प्रकारको भ्रष्टमनोवृत्तिले लोकतान्त्रिक प्रणालीमाथि नै अविश्वासको स्थिति बन्दैछ । अनेक क्षेत्रमा यस प्रकारका गतिविधि भएका छन् । न्यायको अन्तिम निकाय सर्वोच्च अदालत पनि यसबाट अछुतो रहन सकेको छैन ।

उनले भने सर्वोच्चको निर्णयले न्यायालयमाथि कांग्रेसको सोझो हस्तक्षपलाई प्रमाणित गरेको छ ।

मृतकका आफन्तले भने तारेखमा छुटाउनकै लागि इजलास पटकपटक सारियो, पहिले न्यायाधिस अनिलकुमार सिन्हा र हरी फूयालको इजलासमा पेशी चढ्यो । त्यो निवेदकका कानूनी व्यवसायीले स्थगित गराए । त्यसपछि न्यायाधिस सुष्मलता माथेमा र तिलप्रसाद श्रेष्ठको इजलासले मिसल झिकाउने आदेश गरयो । अर्कोपेशी सपना प्रधान र नहकुल सुवेदीको इजलासलाई तोकियो । फेरि कानुन व्यवसायीले स्थगित गराए । न्यायाधिस सपना प्रधान र नहकुल सुवेदी, सुष्मालता माथेमा र कुमार रेग्मी र तिलप्रसाद श्रेष्ठको इजलासमा तीन पेशी मुद्धा हेर्न नभ्याइने गरेर तोकिए । न्यायाधिस हरी फूयाल र विनोद शर्माको इजलासमा फेरि पेशी तोकियो । निवेदकको कानून व्यवसायीले फेरि स्थगित गराए ।

मृतक ऐडीका आफन्तले भने, झण्डै एक वर्षको सेटिडमा प्रकाशमानसिंह रावत र अब्दुल अजिज मुसलमानको इजलास पुस १८ गते तोकियो । जाहेरीवाला आफै उपस्थित भएर स्थगितको निवेदन दिदा पनि सुनुवाई अगाडि बढाइयो । १८ गते ३ बजे नै मुद्धालाई हेर्दाहेर्दैमा राखियो । रातभरि षडयन्त्रका तानाबाना बुन्नियो र १९ गते हत्याका आरोपीहरुलाई सामान्य तारिखमा राख्ने गरेर फैसला सुनाइयो ।

न्यायधिश रावत नेपाली कांग्रेसको कोटाबाट नियुक्त भएको आफन्तहरुको आरोप छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार