१५ बैशाख २०८१, शनिबार

प्रदेशस्तरीय अपराध अनुसन्धान गोष्ठी : प्रहरी र जनताबीच सुमधुर सम्वन्ध हुनुपर्नेमा जोड



धनगढी/ सूदूरपश्चिम प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री शिवराज भट्टको प्रमुख आतिथ्यमा नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभाग र सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीद्वारा संयुक्तरूपमा आयोजित सुदूरपश्चिम प्रदेशस्तरीय अपराध अनुसन्धान समीक्षा एक दिवसीय गोष्ठी २०८० धनगढीमा बुधबार भएको छ ।

गोष्ठीमा सुदूरपश्चिम प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री भट्टले समाजमा शान्ति सुरक्षा लगायत अपराध अनुसन्धान गर्न प्रहरी र नागरिक बिचको सम्बन्ध सुमधुर हुनुपर्ने बताए । प्रहरीले अपराध अनुसन्धानलाई थप प्रभावकारी बनाउनका लागि समयसापेक्ष नयाँ प्रविधिहरूको प्रयोगमा जोड दिँदै जानुपर्ने उल्लेख गर्दै उनले प्रहरी कार्यालयहरुको भौतिक संरचना निर्माण तथा स्रोतसाधन सम्पन्न बनाई अपराध अनुसन्धान कार्यमा प्रहरीलाई शसक्त बनाउन प्रदेश सरकार सदैव प्रतिवद्ध रहेको बताए ।

गोष्ठीलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरले साधन स्रोतको सीमितता, भूगोलको जटिलता र विविध चुनौतीहरूका बाबजुद यस प्रदेशमा घटित विविध घटनाहरूको सफल अनुसन्धान गरी कानूनी राज्यको प्रत्याभूति दिलाउनमा यस प्रदेश अन्तर्गतका प्रहरी कर्मचारीहरूले निभाएको भूमिकाको प्रशंसा गरे । अपराध अनुसन्धानलाई वैज्ञानिक, व्यवस्थित एवम् प्रमाणमुखी बनाई न्यायिक प्रकृयामा सही, निष्पक्ष र पूर्ण व्यावसायिक भई कार्य सम्पादन गर्न अपराध प्रवृत्ति एवम् तथ्याङकहरूलाई समेत केन्द्रबिन्दुमा राखी योजनाबद्ध ढंगले अघि बढ्न जरूरी रहेको बताए ।

प्रहरी महानिरीक्षक कुँवरले प्रभावकारी र वस्तुनिष्ठ अनुसन्धान फौजदारी मुद्दा सफलताको कडी भएको र यसको लागि अपराध अनुसन्धानको क्षेत्रमा आवश्यक पर्ने घटनास्थल सुरक्षा, प्रमाण संकलन, संरक्षण र परीक्षणदेखि मिसिल तयार गर्ने जिम्मेवारीका लागि अनुसन्धान कार्यमा संलग्न प्रहरी कर्मचारीहरूमा कानूनी ज्ञान, विशेष सीप, दक्षता र लगनशीलता आवश्यक रहने बताए ।
साथै उनले अपराध अनुसन्धानको लागि ज्ञान, सीप, दक्षता, अनुभव, अथक लगाव र दृढ संकल्पका अतिरिक्त सरोकारवाला निकाय र समाजसँगको सहकार्य र समन्वय समेत महत्वपूर्ण रहनेमा उनले जोड दिए ।

पीडित तथा साक्षी संरक्षणको सुनिश्चितता, मानव अधिकारको संरक्षण, महिला तथा बालबालिका विरुद्धको हिंसाजन्य घटनाको अनुसन्धानमा थप संवेदनशिल भई शून्य सहनशीलतालाई गम्भीरताका साथ मनन गर्नुहुन उपस्थित सम्पूर्ण प्रहरी कर्मचारीहरूलाई उनले निर्देशन दिए ।

कार्यक्रममा सुदूरपश्चिम प्रहरी प्रमुख एवम् प्रहरी नायब महानिरीक्षक भरतबहादुर बोहराले साइबर अपराधको सङ्ख्या वृद्धि हुँदै गएको सन्दर्भमा प्रहरी अनुसन्धान प्रविधिमैत्री हुनु पर्ने औंल्याए ।

गोष्ठीमा उच्च अदालत दिपायलका न्यायाधीश दिनेशप्रसाद यादव र कैलाली जिल्लाका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले गोष्ठीको महत्व बारे चर्चा गर्दै आ(आफ्नो शुभकामना मन्तव्य व्यक्त गरे ।

नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभागका प्रहरी अतिरिक्त महानिरीक्षक टेकबहादुर तामाङले धन्यवाद ज्ञापन गरेको सो गोष्ठीमा नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभागका प्रहरी वरिष्ठ उपरीक्षक बसन्त रजौरले स्वागत मन्तव्य एवं गोष्ठीबारे जानकारी दिएका थिए।

नेपाल प्रहरी प्रदेश कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक दिलिपसिंह देउवा, सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक दिल्लीराज बिष्ट, सरकारी वकिल कार्यालय कञ्चनपुरका सहायक जिल्ला न्यायाधिवक्ता हरि प्रसाद उपाध्याय, सुदूरपश्चिम प्रदेश अन्तर्गतका ९ वटा जिल्लाका जिल्ला प्रहरी कार्यालयका प्रमुखहरु, नेपाल प्रहरी प्रधान कार्यालयका प्रतिनिधिले अपराध अनुसन्धानको समग्र बस्तुस्थिति र अनुसन्धानमा गरिएका नवीन प्रयोगहरुको विषयमा प्रस्तुतीकरण गरेका थिए ।

सो गोष्ठीमा अपराध अनुसन्धानमा देखिएका समस्या र त्यसका समाधान लगायतका विषयवस्तुहरूमा विस्तृत छलफल गरिएको थियो ।

गोष्ठीमा प्रहरी नायव महानिरीक्षकहरू, जिल्लास्थित सुरक्षा निकायका प्रमुख, संचारकर्मी एवम् प्रदेश अन्तर्गत अपराध अनुसन्धान शाखामा कार्यरत प्रहरी अधिकृतहरुको समेत सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार