१५ बैशाख २०८१, शनिबार

“गैरआवासीय नेपालीको हकहितका निम्ती सरकार जम्मेवार बन्नुपर्छ”



माल्टा / गैर आवासीय नेपालीको हकहितका निम्ति सबै जिम्मेवार बन्नुपर्नेमा एक कार्यक्रमका वक्ताहरुले जोड दिएका छन् ।

गैरआवासीय नेपाली संघको वर्तमान परिवेश, आइसीसी, एनसीसी र एनआरएनएको आगामी कार्यदिशाको विषयमा शनिबार भएको अन्तरक्रिया कार्यक्रममा बोल्ने वक्ताहरुले गैरआवासीय नेपालीको हकहितका लागि सबै जिम्मेवार बन्नुपर्नेमा जोड दिएका हुन् ।

गैर आवासीय नेपालीमा देखिएका विभिन्न समस्या समाधानमा गैरआवासीय नेपाली संघ (एनआरएनए) गैर आवासीय नेपाली संघ केन्द्रिय परिषद् (आईसीसी) र गैर आवासीय नेपाली संघ क्षेत्रीय परिषद् (एनसीसी) ले निरन्तर सहयोग गर्दै आएको अन्तरक्रिया कार्यक्रमका सहभागीहरुले बताएका थिए ।

गैरआवासीय नेपालीमा कानुनी अड्चनका समस्या उत्पन्न हुने भएकोले त्यस्ता समस्या समाधानमा नेपाल सरकार जिम्मेवार भई अग्रसर हुनुपर्ने र सरकारलाई सहयोग गर्न एनआरएनए, आईसीसी र एनसीसी सधैं तयार रहेको उनीहरुले बताएका थिए ।

गैरआवासीय नेपाली संघ युरोप क्षेत्रीय परिषद् (एनसीसी) को आयोजनामा गैर आवासीय नेपाली संघ युरोप क्षेत्रीय परिषद् (एनसीसी) का अध्यक्ष डाक्टर चिरञ्जिवी खड्काको अध्यक्षतामा भएको अनलाइन भर्चुअल अन्तरक्रिया कार्यक्रममा विभिन्न देशका एक सय भन्दा बढिको सहभागिता रहेको गैरआवासीय राष्ट्रिय समन्वय परिषद् युरोप क्षेत्रीय सचिव भुवन अर्यालले बताए । अन्तरक्तिया कार्यक्रमले महत्वपूर्ण विषयमा छलफल गर्दै आगामी कार्यदिशा समेत तयार पारेको अर्यालले बताए ।

पछिल्लो समयमा वैदेशिक रोजगामा रहेका नेपालीहरुले काम नपाउँदा डिप्रेसनमा गई आत्महत्याको समस्या बढ्दै गएको अवस्थाप्रति अन्तरक्रिया कार्यक्रममा सहभागी सबैले चिन्ता व्यक्त गरेका थिए ।

विदेशमा ज्यान गुमाएका नेपालीको शव व्यवस्थापनको प्रक्रिया धेरै झन्झटिलो भएकोले सरकारको समन्वयकारी भूमिका आवश्यक रहेको भन्दै आत्महत्या रोकथाम र मानसिक स्वास्थ्य सम्बन्धी अभिमूखिकरण कार्यक्रम संचालन गर्नुपर्ने विषयमा छलफल भएको गैरआवासीय राष्ट्रिय समन्वय परिषद् माल्टाका सल्लाहकार बाबू अर्यालले बताए ।

आईसीसीका केन्द्रिय अध्यक्ष डाक्टर बद्री केसीले देश बनाउनकै लागि मिलेर काम गर्नुपर्छ भन्दै गैर आवासी नेपाली संघको नीति नियम सबैले मानेर काम गर्नुपर्ने बताए । जायज, नाजायज बाटो भएर युरोप आउने नेपालीहरु यतिबेला धेरै समस्यामा परेका छन् ।

यसको दीर्घकालिन समस्या समाधानको बाटो खोज्नुपर्ने बताउँदै सधैं विदेशमा पैसा उठाएर नेपालीको शवको व्यवस्थापन गर्न नसिकने भएकोले सबैपक्षको सहयोग आवश्यक रहेको उनले बताए । आत्महत्या रोकथाम र मानसिक स्वास्थ्य सम्बन्धी अभिमूखिकरण कार्यक्रम संचालन गर्ने बताउँदै तँपाईहरुले सहयोग गरेको रकम मध्येबाट एक डलर महिलाको लागि र एक डलर युवाको लागि छुट्याउने केसीले बताए ।

उनले् भने,“ पछि आउने समस्यालाई मध्यनजर गर्दै विदेशमा रहेका सबैले समयमै श्रम नवीकरण गर्नुहोला ।” एक फरक प्रसङ्गमा उनले निर्वाचन मार्फत आफू अध्यक्ष पदमा निर्वाचित भएको र कसैले निर्वाचनको परिणामलाई गलत सावित गरे पद त्याग्न तयार रहेको बताउँदै कसैले पनि मतभेद नराखी गैर आवासीय नेपालीको पक्षमा काम गर्न आवश्यक रहेको बताएका थिए ।

आईसीसीका उपाध्यक्ष रामशरण सिमखडाले युरोप क्षेत्रीय सचिबमा नियुक्त भएका भुवन अर्याललाई बधाई दिदै राम्रो कार्यक्रमको आयोजना गरेकोमा आफू खुसी भएको बताएका थिए । गैर आवासीय नेपालीको शवको व्यवस्थापनका लागि सचिवालयमा उलग्गै डेस्क स्थापना गरी प्रक्रियागत रुपमा काम गर्नुपर्ने उनले बताए ।

एनआरएनए युकेका सचिब गोविन्द्र खरेलले एनआरएनएको चुनावले विश्वास गमेकोले आन्तरिक मतभेद हटाएर काम गर्नुपर्ने बताए । त्यसैगरी हेम गुरुङले माल्टा र पोर्चुकलमा धेरै नेपाली आउने र काम नपाएका कारण डिप्रेसनमा गई आत्महत्या समेत गर्ने घटना घटेकोले यसतर्फ सबै गम्भीर बन्नुपर्ने बताए ।

डाक्टर नवराज रोस्याराले संस्थाको हितको लागि सबैले मिलेर काम गर्नुपर्नेमा जोड दिए । हेमराज सुवेदीले आजको कार्यक्रमले राम्रो सन्देश दिएको बताए । एनआरएनको बेल्जिएम सल्लाहकार चन्द्राकुमारी घलले गैर नेपालीको अधिकारका पक्षमा र संस्थागत हितको लागि मिलेर काम गर्नुपर्ने बताईन् । युरोप महिला संयोजक प्रसुना कंडेलले अन्तरक्रिया कार्यक्रमको सहजीकरण गरेकी थिइन ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार