१५ बैशाख २०८१, शनिबार

सहकारीलाई स्वरोजगारमुखी बनाउन मन्त्री देउवाको सुझाव



अत्तरिया, मंसिर २७ गते । सहकारी संस्थालाई सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री प्रकाशबहादुर देउवाले सुदूरपश्चिम प्रदेशलाई चिनाउन नवजीवन सहकारी संस्थाले महत्वपूर्ण भूमिका खेलेको बताएका छन् ।

नवजीवन सहकारी जस्ता धेरै संस्था भए सरकार समेत बलियो हुने उनले बताए । नवजीवन सहकारी संस्थाको धनगढीमा आयोजित ३० औ वार्षिक साधारण सभामा बोल्दै मन्त्री देउवाले सो कुरा बताएका हुन । साथै उनले केही सहकारीले शेयर सदस्यको पैसा दुरुपयोग गरेका कारण सहकारीप्रति जनताको हेर्ने दृष्टिकोण परिवर्तन भएको बताए ।

उनले भने, अहिलेको समयमा सहकारीबाट कोही अलग रहन सक्दैन सबै सहकारीमा जोडिएका छन् । अव आर्थिक अवस्था कमजोर भएकालाई स्वरोजगारका कार्यक्रम ल्याएर स्वरोजगार बनाउनतर्फ लाग्न सुझाव दिए ।

यस्तै गरेर सोही कार्यक्रममा बोल्दै प्रदेश सभासदस्य धर्मराज पाठकले सहकारी भनेको राज्यको खम्बा हो यसको दायरा सरकारले बढाउनुपर्छ भन्दै सहकारी क्षेत्रमा देखिएका समस्याहरुलाई सरकारले समाधान गर्नुपर्ने बताए ।

संस्थाका अध्यक्ष देवबहादुर वमले नवजीवन सहकारीको ब्राण्डमा छिटै बजारमा चामल आउने र त्यसका लागि चार हजार आठ सय क्वीन्टल धान खरिद गरीसकेको बताए । हाल संस्थाको बर्दिया, कैलाली र कञ्चनपुर जिल्लामा ११ वटा इकाइ कार्यालय रहेका छन् । माघ महिनामा दुईवटा डडेल्धुरा र काठमाण्डौमा शाखा खोल्न अनुमति पाइसकेको समेत बताए ।

२०५० सालमा स्थापना भएको सहकारी संस्थामा हाल ३२ हजार ७५४ जना शेयर सदस्य रहेका छन् । संस्थाले शेयर सदस्य सुत्केरीहुँदा १० हजार ,मृत्यु संस्कारमा २० हजार र कुनै ठूलो अंग प्रत्यारोपण गर्नु परे एक लाख सहयोग गदै आएको छ ।

आर्थिक वर्ष २०७९/८० को प्रतिवेदनमा २०८० असार मसान्तसम्म जगेडा तथा कोषमा ५५ करोड ५४ लाख रुपियाँ पुगेको जनाइएको छ ।

२०७९ असारसम्म सो कोषमा ५० करोड ८८ लाख रुपियाँ रहेको थियो आर्थिक मन्दिका वावजुद पनि संस्थाको बचत संकलनमा खासै असर परेको देखिदैन । गत वर्षको निक्षेप चार अर्व नौ करोड १३ लाख ३० हजार रहेको रुपियाँमा बृद्धि भएर २०८० साल असार मसान्तसम्म चार अर्व ४१ करोड ४५ लाख ४१ हजार निक्षेप संकलन गर्न सफल भएको प्रतिवेदनमा उल्लेख छ ।

२०८० असार मसान्तसम्म संस्थाको नगद र बैंक मौज्दात एक अर्ब १९ करोड ३५ लाख ४३ हजार रुपियाँ रहेको छ । संस्थाले प्रतिशेयर १२ प्रतिशतका दरले पूरा वर्षको लाभांश वितरण गर्ने जनाइएको छ । आर्थिक वर्ष २०८०/८१ को नाफाबाट तीन करोड २६ लाख ५२ हजार रुपियाँ लाभांश भुक्तानी गर्ने प्रस्ताव पेश गरिएको प्रतिवेदनमा उल्लेख छ ।

कार्यक्रममा पूर्व सांसद एवंम नवजीवनका सल्लाहकार महेश्वर पाठक , धनगढी उपमहानगरकी उपप्रमुख कन्दला कुमारी राना , पुर्नरवास नगरपालिकाका मेयर लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार