१६ बैशाख २०८१, आईतवार

१७ औ सुदूरपश्चिम महोत्सवको सफलताको शुभकामना



सुदूरपश्चिम महोत्सव हुन थालेको १७ वर्ष भएछ । शुरुमा सुदूरपश्चिमको पहिचानका झल्काउने उद्धेश्यले सुरुवात गरिएको महोत्सव १७ वर्षसम्म आइपुग्नु उल्लेखनिय हो । शुरुका दिनमै महोत्सवले निरन्तरता पाउनेमा आशंका उठाइएको थियो ।

त्यस्तो आशंकाका बीचमा पनि महोत्सवले १७ वर्ष पूरा गर्नुमा आफैमा उपलव्धी हो । जाडो महिना शुरु हुँदा र आम मानिस कृषि कार्यबाट फुर्सदिलो हुँने बेला आयोजना हुने महोत्सवमा दर्शकहरुको उल्लेख्य उपस्थिति हुने गरेको छ ।

दर्शकको माया नै महोत्सवको निरन्तरताको मुख्य आधार हो । धनगढी सुदूरपश्चिम मात्र होइन मुलुकका ७७ वटै जिल्लाको केन्द्र हो । ७७ वटै जिल्लाबाट बसाइँ सराई गरेर आएकाहरुको बसोबास भएको क्षेत्र भएकोले धनगढी सहितको कैलाली जिल्ला ७७ वटै जिल्लाको भाषा र संस्कृतिको प्रतिनिधित्व गर्ने गरेको मान्न सकिन्छ । त्यसैले सकेसम्म ती सबै जिल्लाका भाषा, संस्कृति र परम्पराको प्रतिनिधित्व गर्ने गरेर महोत्सव अगाडि बढ्नुपर्छ त्यति नसके महत्वपूर्ण संस्कृति र परम्परालाई संरक्षण गर्ने गरेर काम गर्नुपर्छ ।

महोत्सव कतिपय व्यक्तीको स्वार्थमा मात्र केन्द्रीत हुने गरेको आरोप शुरुदेखि नै लाग्ने गरेको छ । खासमा महोत्सव केही निहीत व्यक्ती र घरनाको मात्र होइन आम जनता र व्यवसायीको हीतमा महोत्सव केन्द्रीत होस । सबैभन्दा बढी महोत्सवबाट आम्दानी भएको रकम उद्योग वाणिज्य संघको र व्यवसायीको हीतमा भन्दा पनि निहित व्यक्ती, निकटका व्यक्ती र जाडपानी वा मनोरञ्जनमा सकिने गरेको आरोप लाग्दै आएको छ ।

वास्तवमा यस्तो सामुहिक रकम समाजको उन्नती प्रगतिमा खर्च हुनुपर्छ । अर्कोतिर महोत्सवबाट ठूलो रकम भारत जाने गरेको अनुमान पनि गरिन्छ त्यो रोक्न पनि ध्यान दिन जरुरी छ । अनि धेरै कलाकारले राजनीतिक आस्थाका रुपमा मात्र सीमित कलाकार बोलाउने , स्थानीयलाई महत्व नदिने गरेको सुनाउने पनि गरेका छन् । यस्ता गैरराजनीतिक संस्थाको कार्यक्रममा राजनीति नगर्न त्यसमा आयोजक कैलाली उद्योग वाणिज्य संघले ध्यान दिनुपर्छ ।

यस्तै गरेर महोत्सवका प्रमुख अथिति वा प्रधानमन्त्रीसंग पूरा गर्न सक्ने माग राखोस । प्रधानमन्त्रीले पनि सक्ने काम मात्र पूरा हुने गरेर आश्वासन दिउन । महोत्सवको शुभकामना ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार