४ जेष्ठ २०८१, शुक्रबार

एमालेको मध्यपहाडी लोकमार्ग पदयात्राको तयारी पूरा



धनगढी/ सुदूरपश्चिमको बैतडीको झुलाघाटबाट मङ्सिर १४ गते शुरु हुने नेकपा (एमाले) को मध्यपहाडी लोकमार्ग पदयात्राको तयारी पूरा भएको छ ।

एमालेको सुदूरपश्चिम प्रदेश कमिटीले आयोजना गरेको पत्रकार सम्मेलनमा केन्द्रीय सचिव तथा प्रदेश इन्चार्ज छविलाल विश्वकर्माले सम्पूर्ण तयारी पूरा भएको जानकारी दिए । उनका अनुसार सोही कार्यक्रमका लागि एमाले अध्यक्ष केपी शर्मा ओली आज धनगढी पुगेका छन् । अध्यक्ष ओलीसँगै वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल उपाध्यक्ष विष्णु पौडेल लगायतका नेताहरू आजै धनगढी आएका छन् ।

यस्तै गरेर उपाध्यक्ष युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, रामबहादुर थापा, सुरेन्द्र पाण्डेय, महासचिव शङ्कर पोखरेल उपमहासचिव विष्णु रिमाल, सचिव योगेश भट्राई लगायतका नेताहरू भोली विहान धनगढी पुग्दैछन् ।

एमालेका नेताहरु १४ गते विहान ८ः३० बजे हुने पदयात्राको उद्घाटनका लागि भोली नै धनगढीबाट बैतडी जाने भएका छन् । अध्यक्ष ओलीले नेपालको झण्डाको झण्डोत्तोलन गरेर पदयात्राको उद्घाटन गर्ने सचिव छविलाल विश्वकर्माले जानकारी दिए ।

कार्यक्रमको उद्घाटनपछि बैतडी सदरमुकाम गोठलापानीको आमसभालाई अध्यक्ष ओलीले सम्बोधन गर्ने कार्यक्रम तय गरिएको छ । यस्तै गरेर बैतडीकै खोड्पेमा सन्देश सभा आयोजना गरिने छ ।

टोलीले डडेल्धुराको उग्रतारा दर्शन गर्ने १५ गते डडेल्धुराको अमरगढी किल्ला अवलोकन गर्ने, बागबजारमा सन्देश सभा गर्ने, डोटीको दिपायल र सिलगढीमा जनसभा गर्ने र शैलेश्वरीको दर्शन गर्ने कार्यतालिका रहेको छ । १६ गते अछामको साँफेवगरमा सन्देश सभा गर्ने र मङ्गलसेनमा जनसभा सम्बोधन गर्ने कार्यतालिका रहेको छ ।

१७ गते सुदूरपश्चिम प्रदेश कमिटीले अध्यक्ष सहितको टोलीलाई कर्णाली प्रदेशमा बिदाइ गर्ने जनाएको छ । झुलाघाटदेखि अछामको बेलखेतसम्म सुदूरपश्चिम प्रदेशको ३५८ किलोमिटर छिचोल्ने र सो अभियानमा २५० भन्दा बढी नेता कार्यकर्ताको सहभागिता रहने बताइएको छ ।

एमालेका सुदूरपश्चिम अध्यक्ष कृष्णप्रसाद जैशीले सो अभियानका क्रममा सुदूरपश्चिममा तीन दिनसम्म विकास र समृद्धिका लागि बहस हुने बताए ।

१९ दिनमा सङ्कल्प यात्राको पौष ५ गते सन्देश प्रवाह गर्ने गरेर काठमाडौमा समापन हुने बताइएको छ । बैतडीबाट शुरु हुने कार्यक्रम पाँचथरको चिभञ्याङसम्म पुग्ने छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार