१० श्रावण २०८१, बिहीबार

१७ जनालाई छुट्दा , कञ्चनपुरका विपिन जोशीलाई छोडेन हमासले



काठमाडौं / प्यालेस्टिनी चरमपन्थी समूह हमासले थप १७ जनालाई नियन्त्रणबाट मुक्त गर्दा पनि नियन्त्रण मुक्त भएकाको सूचीमा नेपालका विपिन जोशी नपरेको पाइएको छ ।

हमासले १३ इजरायली र चार थाई नागरिकलाई मुक्त गरेको छ त्यसको बदलामा इजरायलले ३९ प्यालेस्टिनीलाई छोडेको छ । इजरायलले छाडेका ३९ जनामध्ये छ जना महिला छन् । अरु सबै १८ वर्षभन्दा कम उमेरका रहेका छन् ।

कतारको मध्यस्थतामा इजरायल र हमासबीच चार दिने अस्थायी युद्धविराम र बन्दी साटफेर सम्झौता भएको थियो । हमास र इजरायलबाट मुक्त गरिएकाहरुलाई आईसीआरसीको जिम्मा लगाइएको छ ।

पहिलो पटक गत शुक्रवार हमासले १३ इजरेली, १० थाई र एक फिलिपिनोसहित २४ जनालाई मुक्त गरेको थियो । दोस्रो पटक हमासले थप १७ जनालाई नियन्त्रणबाट मुक्त गरेको र इजरायलले ३९ जना प्यालेस्टिनी बन्दीहरूलाई रिहा गरेको इजरायल डिफेन्स फोर्सले पुष्टी गरेको छ । हमासले छाड्ने बन्धकहरुको तुलनामा तेब्बर संख्यामा इजरायलले बन्दीहरुलाई मुक्त गर्दै आएको छ ।

गत अक्टोबर ७ मा हमासले इजरायलमा गरेको आक्रमणमा १० नेपाली मारिएका थिए । सो आक्रमणमा एक हजार २०० जनाको ज्यान गएको थियो भने २४० जनालाई उसले बन्धक बनाएको थियो ।

नेपालको कञ्चनपुरका विपिन जोशीलाई पनि बन्धक बनाएको बताइएको छ । तर उनी रिहा हुने नहुने अझै स्पष्ट हुन सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार