१५ बैशाख २०८१, शनिबार

प्रदेश सरकारले लगानी सम्मेलन गर्ने, मुख्यमन्त्रीको टोलीले भेट्यो प्रधानमन्त्री



धनगढी/ आगामी फागुन २३ र २४ गते आयोजना गर्ने लगानी तथा विकास सम्मेलनको तयारीमा सुदूरपश्चिम प्रदेश सरकार जुटेको छ । यसक्रममा लगानी सम्मेलनलाई सफल बनाउनका लागि मुख्यमन्त्री कमलबहादुर शाहको नेतृत्वमा सङ्घीय राजधानी पुगेको कार्यदलले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, परराष्ट्रमन्त्री एनपी साउँदसंग छलफल गरेको छ ।

सम्मेलनलाई सफलतापूर्वक सम्पन्न गर्न र परिणाममुखी बनाउनका लागि सरकार आवश्यक तयारीमा जुटेको हो । प्रदेशमा लगानी भित्र्याउने उद्देश्यका साथ प्रदेश सरकारले लगानी तथा विकास सम्मेलन आयोजना गर्ने भएको छ । छलफलको क्रममा प्रधानमन्त्री प्रचण्डले लगानी र विकास सम्मेलनलाई सहयोग गर्ने प्रतिवद्धता जनाए ।

कार्यदलसंगको छलफलमा प्रधानमन्त्री दाहालले लगानी तथा विकास सम्मेलनलाई सफल पार्न सङ्घीय सरकारले सम्पूर्ण सहयोग गर्ने प्रतिवद्धता जनाउनु भएको छ । यसको औपचारिक निर्णय सङ्घीमन्त्रीपरिषद्को आगामी बैठकले गर्ने जनाइएको छ ।

यसैगरी, लगानीका क्षेत्र र सम्भावनाको पूर्व तयारीका लागि सङ्घीय सरकारले प्रदेश सरकारसंग मिलेर कार्य गर्ने छलफलमा सहमति गरिएको छ । सुदूरपश्चिम प्रदेशमा ट्रान्समिसन लाइन निर्माणको कार्य द्रूत गतिमा अगाडि बढाउने सङ्घीय सरकारले प्रतिवद्धता जनाएको मुख्यमन्त्रीको निजी सचिवालयले जानकारी दिएको छ ।

यस्तै, वेतन कर्णाली लगायत निर्माणाधीन र निर्माणका लागि तयार रहेका आयोजनाको निर्माणका लागि लगानीकर्ताको पहिचान र सम्भाव्यताको सङ्घीय सरकारले लगानी बोर्डमार्फत तदारुकताका साथ अगाडि बढाउने सहमति गरिएको छ ।

यसैगरी, कैलालीको त्रिनगर भन्सारमा गत साउन २८ गतेबाट बन्द भएको प्लान्ट क्वारेन्टाइन कार्यालय तुरुन्तै सञ्चालन गराउने छलफलमा सङ्घीय सरकारले प्रतिवद्धता जनाएको छ ।

कार्यदलमा सुदूरपश्चिम प्रदेशको भौतिक पूर्वाधार विकासमन्त्री प्रकाशबहादुर देउवा, आर्थिक मामिलामन्त्री नरेशकुमार शाही, सामाजिक विकासमन्त्री झपटबहादुर साउँद, सभामुख भीमबहादुर भण्डारी र प्रदेश सभा सदस्यद्वय खगराज भट्ट, ओमविक्रम भाट ‘सरल’ रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार