१० श्रावण २०८१, बिहीबार

भारतियको डिजाइनमा अनलाइनबाट ठगी गर्ने नौ जनाको गिरोह पक्राउ



धनगढी/अनलाइनबाट ठगी गर्ने गिरोहका नौ जनालाई प्रहरीले पक्राउ गरेको छ । नौ जनालाई प्रहरीले धनगढी उपमहानगरपालिका–५ तारानगरबाट पक्राउ गरेको हो ।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले बिहीबार पत्रकार सम्मलेन गरेर पक्राउ परेका व्यक्तिहरुलाई सार्वजनिक गरेको छ । गिरोहले तारानगरस्थित शिवदत्त पाण्डेयको पक्की घरको दोस्रो तलामा आइटी सेक्टर नै सञ्चालन गरेर ठगीधन्दा चलाएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) भरतबहादुर बोहराले बताए ।

उनका अनुसार गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय धनगढी, प्रदेश प्रहरी कार्यालयको आरआइटी टोली र प्रदेश प्रहरी कार्यालय महेन्द्रनगरबाट खटेको प्रहरीको संयुक्त टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा कञ्चनपुरको बेलडाँडी गाउँपालिका–२ का ३० वर्षीय विशाल सुनार, वर्ष २८ का कमल सुनार, वर्ष २२ का जयराम सुनार, भारतको दिल्ली पालङ्गा बस्ने वर्ष ३२ का अमित कुमार रहेका छन् ।

यस्तै, दिल्लीको उत्तमनगर बस्ने वर्ष २६ का कुनाल शर्मा, दिल्लीको करोलबाग बस्ने निखिल कुमार, दिल्ली बस्ने प्रियंसु टापु, डोटीको शिखर नगरपालिका–१० का २१ वर्षीय प्रशान्त बलायर र कञ्चनपुरको पुनर्वास नगरपालिका–६ का २९ वर्षीय मीनबहादुर सुनार पनि पक्राउ परेका छन् ।

डिआइजी बोहराका अनुसार पक्राउ परेका व्यक्तिहरुको साथबाट प्रहरीले विभिन्न कम्पनीको ११ वटा ल्यापटप, आठ थान मोबाइल, वल्र्ड लिङ्कको एक थान राउटर, १२ थान हेडफोन र एक थान किबोर्ड बरामद गरेको छ ।

यसैगरी, ठगीधन्दाको टिम म्यानेजर विशाल सुनारको कञ्चनपुर बेलडाँडीस्थित घरबाट प्रहरीले भारु २९ लाख ३२ हजार ३०० (नेपाली रुपियाँ ४६ लाख ९१ हजार ६८०) बरामद गरेको छ । अनलाइनबाट ठगी गर्नेहरुलाई धनगढीमा पक्राउ गरिसकेपछि प्रहरीले विशालको घरमा छापा मारेको थियो । बरामद रुपियाँ ठगीकै हुन सक्ने अनुमान प्रहरीले गरेको छ ।

डिआइजी बोहराले ठगीधन्दाको मुख्य योजनाकार भने भारतको दिल्ली बस्ने सूर्य सरदार रहेको बताए । पक्राउ परेका नौ जना नै कर्मचारी हुन । सरदारले नै विशाललाई मासिक ५० हजार र अन्यलाई मासिक १२ हजारदेखि २० हजार रुपियाँसम्म तलब दिने गरेर ठगीधन्दामा संलग्न गराएको डिआइजी बोहराले बताए ।

उनले भने “कोठा भाडा खर्चदेखि लिएर काम गर्नेको तलब सूर्य सरदारले नै ब्यहोर्ने गरेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको छ ।”

“अनलाइन ठगी कार्यका लागि सरदारले नै कर्मचारीहरुलाई भिडियो कन्फ्रेन्समार्फत तालिम र आवश्यक स्क्रिप्टसमेत दिने गरेका छन् ।” डिआइजी बोहराले भने ।

डिआइजी बोहराले भने, अनलाइन ठगीमा संलग्न भएकाहरुले मनि लाउण्ड्रिङ, दुर्घटना बीमा लगायत विषयमा प्रलोभनमा पारेर विशेष गरेर पोल्याण्ड लगायतका विभिन्न देशका नागरिकलाई भिसीडाइल सफ्टवेयर प्रयोग गरेर अनलाइनमार्फत ठगी गरिएको हो ।

उनले भने उनीहरु विगत चार महिनादेखि धनगढीमा ४० हजार रुपियाँमा घर भाडामा लिएर ठगीधन्दा चलाएको भेटिन्छ ।
डिआइजी बोहराका अनुसार बरामद भएको रुपियाँ नेपाल सरकारको राजस्वमा जम्मा हुने छ भने पक्राउ परेका व्यक्तिहरुमाथि ठगी र संगठित अपराध मुद्दा चलाउने भएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार