१२ श्रावण २०८१, शनिबार

सुदूरपश्चिम सेवा समाज माल्टाद्धारा भूकम्प पीडितलाई एक लाख सहयोग



माल्टा/ सुदूरपश्चिम सेवा समाज माल्टाद्धारा जाजरकोट र रुकुमका भूकम्प पीडितलाई नगद एक लाख सहयोग प्रदान गरिएको छ ।

सुदूरपश्चिम सेवा समाज माल्टाको पहलमा यरोपको माल्टा देशमा वैदेशिक रोजगारमा काम गर्न गएका नेपालीहरुले सहयोग रकम संकलन गरी शनिबार भूकम्प पीडितलाई प्रदान गरिएको हो ।

भूकम्पका कारण देश शोकमा रहेको बेला भूकम्प पीडितलाई सहयोग गर्न माल्टामा बसेर काम गर्दै आएका नेपालीहरुले आफ्नो कमाईको केही रकम संकलन गरेर पठाएको सुदूरपश्चिम सेवा समाज माल्टाका अध्यक्ष दिपकसिंह ठगुन्नाले बताए ।

समाजका महासचिव शिव विकले जाजरकोट भूकम्प पीडितलाई सहयोग गर्नको लागि संस्थाको बैठक बसेको र सहयोग रकम संकलन गर्ने निर्णय गरेर पैसा संकलन गर्ने काम गरेको बताए ।

गत जेठ २१ गते संस्थाको स्थापना भएसंगै छोटो समयमै सुदूरपश्चिम सेवा समाज माल्टाले मानविय सहयोगको काम गर्दै आएको कोषाध्यक्ष दिनेश नगरी बताउछन् ।

बाजुराका भूकम्प पीडितलाई नगद ७२ हजार सहयोग गरेको र अहिले जाजरकोट भूकम्प पीडितलाई नगद एक लाख सहयोग गरिएको नगरीले बताए । संस्थाका उपाध्यक्ष जनक कुँवरले जाजरकोट भूकम्प पीडितलाई सहयोग गर्नको लागि मंसिर २ गते समाजसेवी एवम् राजनीतिज्ञ चन्दा ऐरको खातामा आफूले एक लाख पठाएको बताए ।

संस्थाका सल्लाहकार संयोजक नरेन्द्रबहादुर पाण्डले रकम संकलनको लागि पटकपटक भुर्चुअल बैठक बसेर संस्थामा छलफल गर्ने गरेको बताए । देशलाई अफ्ठयारो परेको बेला सबैले सहयोग गर्ने हो, सुखदुःखमा साथदिन र मानविय सहयोग गर्नकै लागि संस्थाको स्थापना गरिएको पाण्डे बताउछन् ।

कार्तिक २३ गते शुक्रबार मध्यरातमा गएको भूकम्पबाट १५४ जनाले ज्यान गुमाएका थिए भने धेरै जना घाइते भएका थिए । भूकम्पले घरहरु चर्केर बस्नै नमिल्ने भएपछि धेरैजना विस्थापित भएका छन् र अहिलेपनि त्रिपालमूनी बस्दै आएका छन् ।

वैदेशिक रोजगारमा यरोपको माल्टामा आएका सबै नेपालीलाई समेटेर संस्थाले राम्रो काम गर्दै आएको छ । सुदूरपश्चिम सेवा समाज माल्टा आफूलाई घरजस्तै लाग्ने गरेको भर्रखरै माल्टामा कामगर्न पुगेका कैलालीका तपेन्द्र परियार र अछामका कमल पुरकोटीले बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार