४ जेष्ठ २०८१, शुक्रबार

आगलागी हुँदा धनगढीका आठ पसलको १८ करोडको क्षति




धनगढी/ विद्युत सर्ट हुँदा भएको आगलागीबाट धनगढीको मुख्य बजारमा रहेको खाद्य व्यापार तथा कम्पनी लिमिटेडको भवनमा रहेको सारथी अस्पतालसहितका पसलका गोदाममा १८ करोड रुपियाँ भन्दा बढीको क्षति भएको छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार शनिबार विहान १ बजेतिर आगलागी भएको थियो । सो आगो नियन्त्रण गर्न धनगढी, गोदावरी र पुर्नवास नगरपालिकाका चार वटा दमकल प्रयोग गरिएको थियो । समयमै आगो नियन्त्रण हुँदा सारथी अस्पताल र खाद्य व्यापार तथा कम्पनी लिमिटेडको नयाँ भवनमा रहेका पसलमा थप क्षति भएन । सारथी अस्पताल नजिकै प्रदेश सभा भवन, सेती प्रादेशिक अस्पताल पनि छन् ।

आगो नियन्त्रणका लागि जिल्ला प्रहरी कार्यालय कैलालीसहित नेपाली सेनाको तेघरी ब्यारेक र सशस्त्र प्रहरीको ३४ नम्बर गण कैलालीको टोली समेत परिचालन गरिएको थियो ।

जिल्ला प्रहरी कार्यालय, कैलालीका अनुसार आगलागीबाट सारथी अस्पताल प्रालिको पाँच करोड ५० लाख, भण्डारी जनरल स्टोरको चार करोड २५ लाख, सुभिच्छा बेबी सपको ९० लाख, खाद्य व्यापार तथा कम्पनी लिमिटेडको चार करोड रुपियाँ बराबरको गोदामको भौतिक संरचना, गरिमा पोलिक्लिनिकको ३० लाख, सुविधा इन्टरप्राइजेजको एक करोड ३० लाख, भट्ट सप्लायर्सको ७० लाख, भण्डारी सु सेन्टरको ५० लाख रुपियाँ बराबरको क्षति भएको छ ।

यसैगरी मधुमाला कनेक्सनको ६० लाख ,गोदाममा कार्यरत कर्मचारीको दुई लाख २० हजार रुपियाँ बराबरको स्कुटर जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक कुलदीप चन्दले बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार