४ जेष्ठ २०८१, शुक्रबार

माओवादी नेता कृष्ण बडुवाल (महेश) को उपचार नपाउदा मृत्यु



धनगढी / नेकपा माओवादी केन्द्र सुदूरपश्चिम प्रदेशका उपाध्यक्ष कृष्ण बडुवाल (महेश) को बुधबार राति निधन भएको छ । निमोनिया पीडित बडुवाललाई उपचारमा काठमाडौ लैजान नसकिएपछि मृत्यु भएको हो ।

माओवादी केन्द्रको तीन महिने रुपान्तरण अभियानको क्रममा डोटीमा खटिएका बडुवालको स्वास्थ्यमा समस्या आएपछि आफ्नो घर कैलाली फर्किएर थिए । कैलाली पुगेपछि उपचार गर्दै आएका बडुवालको स्वास्थ्यमा सुधार नभएपछि थप उपचारका लागि भारतको लखनउ लैजाँदै गर्दा बाटोमै निधन भएको हो ।

पत्रकार दीपेन्द्र रावलका अनुसार निमोनियाले गलाउँदै लगेपछि उनलाई काठमाडौंमा उपचार गर्न ल्याउने भनेर नेपालगञ्ज एयरपोर्टसम्म ल्याइएको थियो । तर हवाई जहाजका कर्मचारीहरुले धेरै उचाइबाट उड्नुपर्ने भएकाले बिरामीलाई झन् समस्या पर्ने भन्दै ल्याउन मानेनन् ।

हेलिकप्टरको खोज्दा पनि नभेटिपछि एम्बुलेन्समार्फत् भारतको लखनउ लैजान खोजिएको थियो । हेलिकप्टरको व्यवस्था गरिदिन भनेर धेरै नेताहरुलाई भनियो, गृह मन्त्रालयमा पनि भनियो तर सबैले सामान्य रुपमा लिइदिए,’ पत्रकार रावलले भने, ‘त्यसले गर्दा माओवादी केन्द्रले सुदूरपश्चिमको एकजना इमान्दार र असल नेता गुमायो ।

गत २०७१ साल असोज २० गते डोटीको कटकटे भन्ने स्थानमा भएको बस दुर्घटनामा परेर बडुवालकी श्रीमती र एक छोराको मृत्यु भएको थियो । सो दुर्घटनामा २९ जनाको ज्यान गएको थियो । बडुवाल डोटी गएपछि त्यही घट्ना सम्झेर बिमारी बल्झेको हो कि भन्ने अनुमान पनि गरिएको थियो ।

नेता बडुवाल २०६४ सालको संविधानसभा सदस्य भगतबहादुर बडुवालका सहोदर भाइ हुन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार