४ जेष्ठ २०८१, शुक्रबार

संसदीय समितिको सभापतिका निर्वाचन शुक्रबार हुने



धनगढी/ सुदूरपश्चिम प्रदेश सभाका संसदीय समितिहरुका सभापतिको निर्वाचनको आगामी शुक्रबार ( असोज १२) गते हुने भएको छ ।

प्रदेश सभाले आइतबार समितिका सभापतिहरुको निर्वाचन कार्यतालिका प्रकाशित गरेको प्रदेश सभाका सचिव देवहादुर बोगटीले बताए । सभामुख भीमबहादुर भण्डारीले आइतबार निर्वाचन कार्यतालिका सार्वजनिक गर्ने बताउदै आएका थिए ।

कार्यतालिका अनुसार असोज ११ गते विहीबार नै मतदाताको नामावली प्रकाशन, सभापतिका उम्मेदवारको उम्मेदवारी दर्ता, उम्मेदवारी फिर्ता लगायतका काम पूरा गरिने छ । यस्तै गरेर असोज १२ गते शुक्रबार दिउँसो ११ बजे सभापतिको चुनाव गरिने छ ।

मिनी पार्लियामेन्ट मानिने संसदीय समितिहरु प्रदेश सभाको बैठक बसेको आठ महिना पुग्दा समेत सभापतिविहीन रहेका छन् ।

सुदूरपश्चिम प्रदेश सभामा विधायन तथा प्रदेश मामिला समिति, सार्वजनिक लेखा समिति, अर्थ विकास तथा प्राकृतिक स्रोत समिति र सामाजिक विकास गरी चार वटा संसदीय समितिहरु रहेका छन् । चार वटामध्ये सार्वजनिक लेखा समितिको सभापति भने प्रतिपक्षी दलबाट रहने व्यवस्था रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार